काठमाण्डु – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीको आसन्न १५औँ महाधिवेशनमा भाग नलिने घोषणा गरेका छन् ।
सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको १५ ओँ महाधिवेशन प्रक्रियामा आफ्नो सहभागिता नरहेको र नरहने खड्काले स्पष्ट पारेका छन्।
खड्काले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफू महाधिवेशनमा सहभागी नरहेको र नरहने बताएका हुन्।
खड्काले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्नुको मुख्य कारण पनि यही विवाद रहेको पनि दाबी गरेका छन् । विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमिति कानुन, पार्टी विधान, राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोगले विगतमा राजनीतिक दलका विवाद निरुपण गर्दा स्थापित गरेको नजिरविपरीत रहेको दाबीसहित आफूहरू सर्वोच्च अदालत गएको उनले स्मरण गरेका छन्।
‘गगन थापाको हस्ताक्षरमा प्राप्त टिकटबाट निर्वाचन लड्नु आफूलाई चरम अनैतिक हुने विश्वासका कारण निर्वाचनमा उम्मेदवारी नदिएको हुँ’, उनले देखेका छन् । ‘मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ, यस्तो अवस्थामा सभापति गगन थापाको नेतृत्वमा प्राम्भ भएको कांग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवेशनमा सहभागी नभएको व्यहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चाहान्छु’, खड्काले लेखेका छन् ।
उनले अहिले पनि त्यही अवस्था सिर्जना भएको उल्लेख गर्दै सर्वोच्च अदालतको डिभिजन बेन्चबाट आफूहरूको दाबीविपरीत निर्णय आएपछि कानुनी व्यवस्थाअनुसार त्यसविरुद्ध पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन दिइएको जनाएका छन् ।
खड्काले सर्वोच्च अदालतको पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी आफूहरूलाई निस्सा दिएको दाबी गरेका छन्। उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको उनको भनाइ छ ।
पुनरावलोकनको निस्सा पाएपछि पनि महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय भएपछि मुद्दाको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै आफूहरू सर्वोच्च अदालत गएको उनको भनाइ छ।
तर, सर्वोच्चले महाधिवेशन रोक्न आवश्यक नदेखिएको भन्दै रिट जारी नगरेको खड्काको भनाइ छ। त्यसको परिणामस्वरूप कांग्रेसको नाममा अलग–अलग दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको उनले बताएका छन्।
‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ,’ खड्काले भनेका छन्।
यद्यपि पार्टी विभाजन रोक्न आफूहरू अन्तिम प्रयास गरिरहेको जिकिर गर्दै कांग्रेस विभाजन भए त्यसको असर कांग्रेसजनमा मात्र सीमित नरहने उनको भनाइ छ।
देशको वर्तमान विषम परिस्थितिमा राजनीतिक परिवर्तनका विभिन्न आन्दोलन र अभियानको नेतृत्व गरेको ऐतिहासिक पार्टी विभाजन भए त्यसले नेपालको लोकतन्त्रमा समेत बहुआयामिक प्रभाव पार्न सक्ने संकेत देखिएको खड्काले उल्लेख गरेका छन्।
उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई विचाराधीन पुनरावलोकन मुद्दाको गम्भीरता मूल्यांकन गरी अग्राधिकार दिन सकिने अवस्था भए मुद्दाको अन्तिम फैसला यथाशीघ्र गरिदिन आग्रह पनि गरेका छन्।




प्रतिक्रिया