पृतनापतिलाई प्रधानसेनापतिको निर्देशनः संक्रमित फौज र परिवारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनू


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ को महामारी बढ्दै जाने पूर्वानुमान अनुसार सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरुसङ्गको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् ।

कात्तिक २ गतेदेखि जारी तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक’ को समापन गर्दै प्रधानसेनापति थापाले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै सम्मेलनमा भएको प्रस्तुतिकरण र छलफलबाट निस्किएका निचोडहरुले भविष्यको लागि महत्वपूर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए ।

उनले उक्त अवसरमा नेपाली सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालिमा आधारीत बनाउन थप बल पुर्याएको टिप्पणी गर्दै वर्तमान प्रवृत्तिको विश्लेषण र जाडो मौसमका कारण बढ्ने जोखिमका लागि पूर्वतयारी गर्न सबै पृतनापतिहरुलाई निर्देशन दिएका छन् ।

उनले यस महामारीको समयमा आफ्नो फौज र तिनका परिवारहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्‍याउन, संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र तिनको हौसला कायम राख्न तथा राख्न लगाउन समेत सबैलाई निर्देशन दिएका छन् ।

उक्त समन्वयात्मक बैठकको क्रममा जङ्गी अड्डाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयबाट आ–आफ्नो विभागको जिम्मेवारी सम्बन्धि विषयहरुको कार्य प्रगतिको समिक्षा भएको नेपाली सेनाले जनाएको छ ।

सहभागी पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड–१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवं लिनुपर्ने कार्यनीतिहरु सम्बन्धमा सुझावहरु सहितको प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement