तयारी अवस्थामा रहन सेनालाई प्रधानसेनापतिको निर्देशन


काठमाण्डु – नेपाली सेनाले तयारी अवस्थामा रहन सबै पृतनापतिहरुलाई निर्देशन दिएको छ ।

आइतबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै पृतनापतिहरुलाई भिडियो कन्फरेन्समार्फत पछिल्लो घटनाक्रमबाट उत्पन्न हुने परिस्थितिलाई आँकलन गर्दै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले पछिल्लो समय विकशित भएका घटनाक्रमबारे छलफल भएको जानकारी दिए ।

प्रवक्ता पौडेलले सबै पृतनाहरुलाई आफ्नो क्षेत्रमा भएका घटनाक्रमबारे जानकारी लिन निर्देशन दिएको जानकारी दिए ।

‘पछिल्लो समय विकशित भएका घटनाक्रमबारे छलफल गरिएको हो । परिस्थितिको मूल्यांकन गर्ने, आँकलन गर्ने, स्थानीय सरकार र स्थानीयनिकायसँग समन्वयनमा रहन, अरु सुरक्षा निकायहरुसँग पनि सम्पर्क र सूचना आदान प्रदान गरिरहन निर्देशन दिएका छौं’, प्रवक्ता पौडेलले काठमाण्डुपाटीसँग कुरा गर्दै भने ।

यसअघि सुदुरपश्चिम र पूर्वमा भएको भ्रमणका क्रममा प्रधानसेनापति थापाले स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वयन गरेर अगाडि बढ्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै देशमा थप सुरक्षा चुनौतीको आँकलन गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । सरकारको उक्त कदमको विरुद्धमा चौतर्फी प्रर्दशन सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement