कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई तोकिएको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन र तत्पश्चात जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको शिलशिलामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्वत् २०८० साल भदौ ३० गते शनिबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ ।’

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको अठहत्तरौं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिवार अमेरिका प्रस्थान गरेका छन् । उनले महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा सहभागी भई उनी सोझै चीन जाने कार्यक्रम छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको अमेरिका र चीन भ्रमण स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement