काठमाण्डु- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशन वर्तमान अवस्था समीक्षा गर्दै भविष्यको बाटो तय गर्ने महत्वपूर्ण थलो भएको बताएकी छन्।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेको कांग्रेसले आफ्नो वर्तमान अवस्था र आगामी दिशाबारे गम्भीर समीक्षा गर्नुपर्ने बताइन्।
‘२००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोको रूपमा यो महाधिवेशन हुन गइरहेको छ,’ उनले भनिन्।
भुसालले महाधिवेशन नेतृत्व चयन र पद व्यवस्थापनमा मात्रै सीमित हुन नहुने बताइन्। कांग्रेसका नेता–कार्यकर्तासँगै लोकतन्त्र र कांग्रेसमा विश्वास गर्ने सबैले पार्टीको वर्तमान अवस्थाबारे आत्मसमीक्षा गर्ने अवसरका रूपमा महाधिवेशनलाई लिनुपर्ने उनको भनाइ छ।
‘यो महाधिवेशन पद व्यवस्थापन गर्नका लागि मात्र भइराखेको छैन। कांग्रेसका नेता र कार्यकर्ता मात्रै होइन, लोकतन्त्र र कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलो बन्नुपर्छ,’ भुसालले भनिन्।




प्रतिक्रिया