‘नेकपाकै नेतृत्वमा बलियो सरकार छ, पुष्पलालको सपना पूरा भयो’


गलकोट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले पुष्पलालले पार्टी स्थापना गर्दा देखेको सपना पूरा हुन थालेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बागलुङले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवसका अवसरमा आज आयोजित फलफूल वितरण तथा वृक्षरोपण कार्यक्रममा नेपालीले पुष्पलालले देखेको नेपाल कम्युनिष्ट पार्टीको विचार अहिले आएर साकार भएको बताएका हुन् ।

“नेकपाकै नेतृत्वमा बलियो सरकार छ, छ प्रदेशको नेतृत्व नेकपाले गरेको छ”, नेपालीले भने, “पुष्पलालले स्थापना गरेको नेकपाको जगमा नेकपा मजबुत भएको छ ।” गण्डकी प्रदेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका नेपालीले जनताको चाहना र नेकपाको एकता सफल बनाउनु अहिलेको आवश्यकता भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई पुष्पलालको विचारमा अडिक रहन आग्रह गरे ।

नेपालीले नेपाली कम्युनिष्ट आन्दोलनमा उनले गरेको योगदान सदा स्मरणीय रहेको भन्दै श्रेष्ठको ४१ औँ स्मृति दिवसको अवसरमा उनीप्रति श्रद्धाञ्जलि व्यक्त रगरे । विगतमा छिन्नभिन्न नेपालको कम्युनिष्ट आन्दोलन सङ्गठित र मजबुत हुँदै करिब दुई तिहाइ मतसहित शासनको नेतृत्व गरिरहनु भनेको पुष्पलालको सपना साकार भएको नेपालीको भनाइ रहेको थियो ।

स्मृति दिवसका अवसरमा धौलागिरि अस्पताल, धौलागिरि बहुमुखी क्याम्पस तथा धौलागिरि बहिरा आवासीय विद्यालयको आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितलाई फलफूल वितरण गरिएको थियो । यस्तै धौलागिरि अस्पतालको बगैँचामा वृक्षरोपणसमेत गरिएको नेकपा जिल्ला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव पुष्पलाल श्रेष्ठले २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । स्मृति दिवसमा सांसद मनकुमारी केसी, प्रदेशसभा सदस्य सावित्रा राना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement