पाँच अर्ब डलरको हतियार खरिद सम्झौता गर्न रूसी राष्ट्रपति नयाँदिल्लीमा


काठमाडाैं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार बेलुका नयाँदिल्ली पुगेका छन्।

 नयाँदिल्लीमा अवतरण गरेका पुटिनलाई भारतीय विदेशमन्त्री सुश्मा स्वराजले स्वागत गरेकी छन्। रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालिरहेका छन् ।

रुसले जारी गरेको विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अध्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुनेछ । रुसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकहरु विरुद्ध अमेरिकाले प्रतिबन्धहरु लगाउने घोषणा गरेपनि यो हस्ताक्षर हुन लागेको हो ।

राष्ट्रपति पुटिन १९औं भारत–रुस द्विपक्षीय वार्षिक सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि रहेको छ । उनले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्नेछन्।

वासिङ्टन र नयाँदिल्लीले सन् २०१९ मा संयुक्त सैन्य अभ्यास गर्ने गत महिनामात्र घोषणा गरेका थिए । दुबै देशबीच संवेदनशील सैन्य सूचना आदानप्रदान गर्ने पनि सहमति भएको थियो ।  तर रुस नै भारतको मुख्य सैनिक साझेदार रहिआएको छ, र पछिल्लो सम्झौता मस्कोका लागि निकै महत्वपूर्ण मानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement