क्वारेन्टाइनमा कोरोना जाँच विनै लिखित प्रतिबद्धता गराएर घर पठाउन निर्देशन

क्वारेन्टाइनमा कोरोना जाँच विनै लिखित प्रतिबद्धता गराएर घर पठाउन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडीटी परीक्षण गर्न नयाँ मापदण्ड तोकेको छ ।

क्वारेन्टाइनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी लिखित प्रतिबद्धता गराएर घर फर्काउने मापदण्डमा भनिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरूका लागि बिहीवार जारी जाँच तथा व्यवस्थापनसम्बन्धी निर्देशनमा प्रदेशमा क्वारेन्टाइनमा बस्नेहरूको संख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक मात्रामा आरडीटी किट्स उपलब्ध नभएको हुँदा मापदण्ड जारी भएको जनाइएको छ ।

निर्देशक डा. गुणराज अवस्थीद्वारा जारी परिपत्रमा क्वारेन्टाइनमा बस्नेको संख्या बढिरहेको र हाल रहेकाको पनि परीक्षणका लागि आवश्यक किट नभएकाले होम क्वारेन्टाइन र होम आइसोलेसनमा बस्न जोड दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह तथा प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ पठाइएको परिपत्रमा कोरोनाका लक्षण नदेखिएका तर क्वारेन्टाइनमा १४ दिन बिताइसकेकालाई थप ७ दिन होम क्वारेन्टाइनमा बस्ने लिखित गराई पठाउने, आरडीटी पोजेटिभ देखिएका तर कोरोनाका लक्षण नदेखिएकालाई स्वाब संकलन गरी पीसीआर जाँचको नतिजा नआउञ्जेल होम आइसोलेसनको मापदण्डअनुसार घरकै आइसोलेसनमा पठाउने र होम क्वारेन्टाइन तथा आइसोलेसनमा रहँदा कोरोनाको लक्षण देखापरेमा स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा राखी उपचार गराउने उल्लेख गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाका पहिलो कोरोना संक्रमितलाई १४ दिनसम्म कुनै लक्षण नदेखिएको भन्दै नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनबाट घर फिर्ता पठाइएको छ । जेठ २२ गते धनगढी प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएका घोडाघोडी नगरपालिका–११ का ३२ वर्षीय पुरुषलाई बिहीवार पुष्पगुच्छासहित नगर प्रमुख ममताप्रसाद चौधरी र स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बिदाइ गरे ।

कोरोनाको लक्षण नदेखिएकालाई होम क्वारेन्टाइनमा राख्ने गरी आइसोलेसनबाट डिस्चार्ज गर्ने राष्ट्रिय निर्देशिका अनुसार उनलाई घर पठाइएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले जानकारी दिए । १४ दिन क्वारेन्टाइनमा बसिसकेपश्चात पोजेटिभ देखिसकेपछि थप १४ दिन आइसोलेसनमा बसेर कुनै लक्षण नदेखिएका कारण फर्किन पाउँदा निकै खुशी लागेको आइसोलेसनबाट घर फर्काइएका ३२ वर्षीय पुरुषले बताए ।