काठमाण्डु– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रहबर अन्सारीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा भएको
बेथितिले विद्यार्थीको भविष्यमाथि खेलबाड भएको भन्दै उनीहरूको तत्काल अन्य मेडिकल कलेजमा व्यवस्थापन गर्न माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अन्सारीले कलेजमा चिकित्सा शिक्षाको नाममा गम्भीर अनियमितता भइरहेको आरोप लगाउँदै तत्काल छानबिन गरी कारबाही अघि बढाउन सरकारसँग माग गरे ।
उनले कलेजले करिब २५ जना नक्कली प्राध्यापक खडा गरेर स्नातकोत्तर तह (पीजी) को सिट लिएको आरोप लगाए । अनियमितताको विरोध गर्ने विद्यार्थीलाई विगत १० दिनदेखि छात्रावासबाट निकाल्नुका साथै कलेज प्रवेशमा समेत रोक लगाइएको उनको दाबी छ ।
चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा कलेज प्रशासनले सुरक्षा गार्डलाई बिरामी बनाएर बेडमा सुताउने र नक्कली प्राध्यापकलाई वास्तविक प्राध्यापकका रूपमा प्रस्तुत गरी निरीक्षण टोलीलाई झुक्याउने गरेको आरोप पनि उनले लगाए ।
अन्सारीले नेपाली विद्यार्थीबाट प्रतिविषय पास गराउने नाममा ३ लाख रुपैयाँ र विदेशी विद्यार्थीसँग ५ लाख रुपैयाँसम्म असुल्ने गरिएको आरोप लगाए ।
उनका अनुसार रकम लिएपछि उत्तरपुस्तिकामा आफैँ उत्तर लेखेर विद्यार्थीलाई उत्तीर्ण गराउने गरिएको छ ।
विगतका सत्तासीनहरूको आडमा कलेज सञ्चालकहरूले राज्य संयन्त्रलाई प्रभावमा पारेका कारण कारबाही हुन नसकेको आरोप लगाउँदै अन्सारीले तत्काल छानबिन गर्न माग गरे ।
‘यो मुन्ना भाइ फिल्मको कथा जस्तै रमाइलो लाग्न सक्छ, तर वास्तविकतामा यस्ता घटनाले सिंगो राज्यको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उब्जाएको छ,’ उनले भने ।
यस्ता गतिविधि नियन्त्रणमा नलिए भविष्यमा गलत उपचारका कारण गम्भीर स्वास्थ्य दुर्घटना निम्तिन सक्ने चेतावनी दिँदै उनले चिकित्सा शिक्षाको गुणस्तर र विद्यार्थीको भविष्य सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताए ।




प्रतिक्रिया