काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पनन महाधिवेशनले रास्वपालाई राजनीतिक दलका रूपमा वैधानिकता प्रदान गरेको बताएका छन् ।
महाधिवेशनको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
उनले रास्वपा नयाँ राजनीतिक दल भएकाले विभिन्न कमजोरी र त्रुटि हुनु स्वाभाविक रहेको स्वीकार गर्दै त्यसका लागि प्रतिनिधि तथा नेता–कार्यकर्तासँग माफी समेत मागे ।
सभापति लामिछानेले महाधिवेशनबाट पार्टीले धेरै कुरा सिकेको उल्लेख गर्दै फरक–फरक पृष्ठभूमिबाट राजनीतिमा आएका कारण आगामी दिनमा अझ धेरै चुनौतीको सामना गर्नुपर्ने बताए ।
‘हामी फरक पृष्ठभूमिबाट राजनीतिमा आएका हौं। त्यसैले विभिन्न युगका र सबै प्रकारका चुनौतीहरूको सामना गर्न तयार हुनुपर्छ’, उनले भने ।
यस्तै उनले आफूलाई अपरिपक्व हुने छुट नभएको बताए ।
उनले भने ‘देशले आशा भरोसा गरेकाले मैले धेरै मिहिनेत गर्नुपर्ने हुन्छ। यसअघि मलाई अपरिपक्वको आरोप लाग्थ्यो,’ लामिछानेले भने, ‘तर परिस्थितिले मलाई अपरिपक्व हुने छुट दिएको छैन। बढी जिम्मेवार, बढी परिपक्व बन्न परिस्थतिले भनेको छ।’
उनले पार्टीका कुनै पनि सदस्यले गरेको क्रियाकलाप, दिएको अभिव्यक्ति, उपस्थितिले देशमा कोही पनि भयभित र त्रसित हुन नहुने बताए ।
‘हाम्रा राजनीतिक क्रियाकलाप, राजनीतिक अभिव्यक्ति, राजनीतिक उपस्थितिले देशका प्रबुद्ध, देशप्रेमी, नागरिक समाज, सञ्चार जगत, अन्तर्राष्ट्रिय जगत, राजनीतिक वृत्त कोही पनि भयभित र त्रसित हुन हुँदैन,’ उनले भने, ‘किनभने प्रश्न आउँछन्, प्रश्नबाट भाग्ने होइन त्यसलाई रचनात्मक रुपमा सामना गर्दै जनतालाई आश्वस्त पार्ने जिम्मा हाम्रो हो ।’




प्रतिक्रिया