दोषी बचाउने खेल भइरहेको बताउदैँ रविले भने- भ्रष्टाचारको विषयमा छानबिन गर्न प्रधानमन्त्रीको मुटु काम्यो


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका व्यक्तिको बयान नलिएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले शरणार्थी प्रकरणमा जस्ता-जस्ता मान्छेको नाम क्रमशः आउँदैछ, उनीहरुलाई एकपटक पनि बयानका लागि नबोलाउँदा अविश्वासको वातावरण सिर्जना भएको बताएका हुन् ।

लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न आफूले मुटु नकमाउने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्नुपर्ने बताए । भ्रष्टाचारको विषयमा हाइप्रोफाइल भन्ने नहुने भन्दै उनले फाइल हुने बताए ।

प्रधानमन्त्रीले मुटु कमाउँदिनँ भनेपनि त्यस्तो नदेखिएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीजी, अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने हो भन्नुस् । काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ ।’

प्रमुख तीन दलका शीर्षनेताहरुको भेटघाटमा दोषी जोगाउने गन्ध आएको लामिछानेको भनाइ छ । भ्रष्टाचारको विषयमा आफ्नो पार्टी निर्मम रहेको भन्दै उनले न्यायालय र सेनामाथिको भ्रष्टाचारको विषयमा बोल्नै मान्छे डराउने गरेकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement