काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरी घटनालाई लिएर राजनीतिक दलहरुको धारणा लिएर सरकारको ध्यानाकर्षण गराइने बताएका छन् ।
आज सर्वदलीय बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् । लामिछानेलाई सञ्चारकर्मीले वैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिका विषयमा जिज्ञासा राखेका थिए ।
त्यसको जवाफ दिदैं लामिछानेले सुनसरी घटनाका सन्दर्भमा सरकारले आफ्नो काम गरिरहेको बताए । ‘प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ गृहमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ । अहिले शान्ति सद्भाव कायम गर्ने हो । अहिले चर्का कुरा गर्ने होइन । कसले बोल्यो कसले बोलेन भन्ने होइन । समाजिक सद्भाव नभड्कियोस् भन्ने हो ।’ लामिछानेले भने ।
उनले सुनसरी घटनालाई लिएर प्रशासनले गर्ने निष्पक्ष छानबिनको पर्खाइमा आफूहरु रहेको बताए । घटना के भएको हो, त्यसको सत्य तथ्य बाहिर आउन समय लाग्छ । अहिले नै विभिन्न अफवाह र षड्यन्त्रका पछाडि लाग्नुभन्दा जिम्मेवार प्रशासनले गर्ने निष्पक्ष छानबिनको पर्खाइमा छौँ ।’ उनले भने ।
यस्तै लामिछानेले देशमा साम्प्रदायिक विद्वेष फैलाउने र एक समुदायले अर्को समुदायप्रति घृणा फैलाउने गतिविधि हुन नदिन सबै दलहरूबिच साझा समझदारी बनेको बताए ।
‘कुनै पनि साम्प्रदायिक गतिविधि, जसले एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा, द्वेष र आक्रमण गर्ने स्थिति सिर्जना गर्छ, त्यसले कसैलाई फाइदा गर्दैन । यस्ता घटना हुँदा हामी सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्छ भन्ने महसुस गरेका छौँ ।’ उनले भने ।




प्रतिक्रिया