काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रसुवा र नुवाकोटमा आएको बाढीपहिरोले ठूलो क्षति पुर्याएको भन्दै जलवायु जोखिम न्युनीकरणका निम्ति नेपाल, भारत र चीनबिच तत्काल त्रिदेशीय सहकार्य हुनुपर्ने बताएका छन् ।
भारतीय सञ्चारमाध्यम एनडीटीभीले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले जलवायु जोखिम न्युनीकरणका लागि त्रिदेशीय सहकार्य हुनुपर्नेमा जोड दिए ।
रसुवाको भोटेकोसी र नुवाकोटको त्रिशूली नदी तटीय क्षेत्रमा आएको बाढीले ठूलो मानवीयसँगै जलविद्युत् पूर्वाधार, सडक तथा बस्तीहरूमा गम्भीर क्षति पुर्याएको उनले बताए ।
संकटको घडीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई टेलिफोन गरी तत्काल राहत सामग्री पठाएका र ऐक्यबद्धता जनाएकोमा उनले आभार व्यक्त गरे ।
‘नदी र बाढीले राजनीतिक सीमा हेर्दैन,’ उनले भने, ‘नेपाल, भारत र चीन ३ फरक देश भए पनि हामी एउटै हिमाली भूगोल र नदी प्रणालीमा जोडिएका छौँ । हिमालय क्षेत्र द्रूतगतिमा परिवर्तन भइरहेकाले प्राकृतिक विपत्तिको जोखिमबाट जोगिन सीमापार तथ्यांक आदानप्रदान र पूर्वसूचना प्रणाली स्थापना गर्न त्रिदेशीय साझेदारी अनिवार्य भइसकेको छ ।’




प्रतिक्रिया