रवि लामिछानेले भने– एक वर्षअघि जेनजीले जस्तै भोलि कोही हामीसँग जवाफ माग्ने उभिनेछ

रवि लामिछानेले भने– एक वर्षअघि जेनजीले जस्तै भोलि कोही हामीसँग जवाफ माग्ने उभिनेछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गत भदौमा भएको जेनजी आन्दोलनलाई देशमा नयाँ जागरणको सुरुवातका रूपमा व्याख्या गरेका छन् ।

जेनजी शहीद दिवसका अवसरमा मंगलबार वक्तव्य जारी गर्दै लामिछानेले लामो समयदेखि मौलाउँदै आएको भ्रष्टाचार, दलीय भागबन्डा, राज्य संयन्त्रको असक्षमता र नागरिक अधिकारमाथिको नियन्त्रणले युवापुस्तामा निराशा बढाएपछि उक्त आन्दोलन भएको बताए ।

अवसरबाट वञ्चित हुँदै गएको महसुस गरेका युवाहरू अन्ततः सडकमा आउनुपरेको उनको भनाइ छ । लामिछानेले आन्दोलनका क्रममा युवा पुस्ताले ज्यान गुमाउनुपरेको घटना आफूहरूका लागि अत्यन्त पीडादायी क्षणका रूपमा स्मरण गरेका छन् ।

‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो,’ उनले भनेका छन् ।

भदौ २३ र २४ गतेका घटनाबाट देशले पाठ सिक्नुपर्ने उल्लेख गर्दै उनले अब परिवर्तनका लागि कुनै पनि आमाको काख रित्तिन नपर्ने अवस्था निर्माण गर्नुपर्ने लामिछानेले उल्लेख गरे ।

नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै ज्यान गुमाउने जेनजी शहीदप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन् । कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीलाई पनि उनले सम्झिएका छन् ।

‘भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् । परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस्,’ उनले लेखेका छन् ।

आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लामिछानेले राजनीतिमा चासो नरहेको भनिएको पुस्ताले नै सडकमा आएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकार गरेको बताए । जेनजी युवाहरूले सडकबाट उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिले रास्वपाको काँधमा आएको लामछिानेको बताए ।

‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,’ उनले भनेका छन् ।

रास्वपालाई नागरिकको निरन्तर खबरदारी आवश्यक रहेको पनि लामिछानेले बताएका छन् । युवा, नागरिक समाज र आम नागरिकले आफ्नो दलका कामको रचनात्मक समीक्षा गरिरहनुपर्ने उनको आग्रह छ ।

उनले नागरिकको असन्तुष्टिलाई निराशामा परिणत हुन नदिई राष्ट्र निर्माणको शक्तिमा बदल्नुपर्नेमा जोड दिए ।

‘नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ,’ उनले भनेका छन् ।

जेनजी आन्दोलनले देखाएको बाटोबाट आफ्नो दल पछि नहट्ने दाबी गर्दै लामिछानेले विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ,’ उनले भनेका छन् ।