स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाण्डु जिल्ला अदालत पुगेर तारेख बुझे रविले

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाण्डु जिल्ला अदालत पुगेर तारेख बुझे रविले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा शुक्रबार काठमाण्डु जिल्ला अदालत पुगेर तारेख बुझेका छन्।

बबरमहलस्थित जिल्ला अदालत पुगेर उनले शुक्रबार दिउँसो मुद्दाको नियमित तारेख बुझेका हुन्।

काठमाण्डु कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा मुद्दा दायर भएपछि उनी बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका थिए।

अदालतले उनलाई अन्य जिल्लाका अदालतहरूमा रहेका मुद्दाको तारेखसमेत काठमाण्डुबाटै बुझ्न पाउने सुविधा दिएको छ।

जीबी राई सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा देशका विभिन्न सहकारीको रकम गैरकानुनी रूपमा प्रवाह गरी अपचलन गरेको आरोपमा लामिछानेविरुद्ध मुद्दा चलाइएको थियो।

यसअघि महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर फिर्ता लिने निर्णय गरेको थियो।

उक्त निर्णयपछि रुपन्देही, पोखरा र चितवन जिल्ला अदालतबाट ती कसुरहरू फिर्ता भइसकेका छन्। हाल लामिछानेविरुद्ध सहकारी ठगीको कसुर मात्र अदालतमा विचाराधीन रहेको छ।