रास्वपा झोलेबाट स्मार्ट फाइलको युगमा प्रवेश गरेको घोषणा गर्दै रविले भनेः घण्टे र खराने युगबाट पनि निकालौंला

रास्वपा झोलेबाट स्मार्ट फाइलको युगमा प्रवेश गरेको घोषणा गर्दै रविले भनेः घण्टे र खराने युगबाट पनि निकालौंला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई झोले युगबाट बाहिर निकालेर स्मार्ट फाइलको युगमा प्रवेश गराएको घोषणा गरेका छन् ।

उनले पार्टीलाई ‘घण्टे’ र ‘खराने’ भन्ने पहिचानबाट समेत बाहिर निकाल्ने बताए ।

शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीका कार्यक्रम, अधिवेशन र प्रशिक्षणमा सहभागीलाई झोला वितरण गर्ने परम्परा अन्त्य गरेर त्यसको सट्टा स्मार्ट डायरी तथा फाइल प्रयोग गर्ने निर्णय सुनाएका हुन् ।

‘कम्तीमा हामीले रास्वपालाई झोले युगबाट बाहिर निकालेका छौं । घण्टे र खराने युगबाट पनि निकालौंला,’ उनले भने, ‘पहिला झोलाबाट त निस्कौं भनेर झोलाबाट निस्किन सुरु गरेका छौं ।’

लामिछानेले राजनीतिक दलको विचार, सिद्धान्त, नीति, आदर्श र नेतृत्व मन पराएर मानिस राजनीतिमा लाग्ने भए पनि ‘झोले’ शब्दलाई राजनीतिक गालीका रूपमा प्रयोग गरिने गरेको बताए ।

कांग्रेस, एमाले, माओवादी, जसपा र लोसपाका समर्थकलाई समेत विगतमा झोले भन्ने गरिएको उल्लेख गर्दै उनले रास्वपाले पनि त्यस्तै आलोचना खेप्न थालेको उल्लेख गरे ।

आफ्नै महाधिवेशनमा सहभागीलाई झोला वितरण गरिएको प्रसंग निकाल्दै उनले त्यही झोला बोकेर हिँड्दा पार्टीका सदस्यलाई पनि ‘झोले’ भन्ने गरिएको भन्दै त्यसको विकल्प खोजिएको बताए ।

उनका अनुसार अब पार्टीका कार्यक्रमहरूमा झोलाको सट्टा स्मार्ट फाइल प्रयोग गरिनेछ । उक्त फाइलमा जनताका मुद्दा, गुनासा र जनतासँग सम्बन्धित विषयहरू टिपोट गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।

लामिछानेले झोलाको तुलनामा फाइल महँगो पर्ने भए पनि त्यसका लागि बाह्य प्रायोजक र आयोजक खोज्नुभन्दा पार्टीभित्रै सहयोग जुटाउने नीति लिइएको स्पष्ट पारे। पार्टीलाई एनजीओ, आईएनजीओ वा अन्य प्रायोजकको आर्थिक प्रभावबाट मुक्त राखेर स्वतन्त्र रूपमा राजनीतिक अभ्यास गर्नुपर्ने उनको भनाइ थियो ।

‘झोलाको युगबाट निस्किएर फाइलको युगमा आइसकेपछि हामी आफैं गर्ने हो। हुनेले किन्ने, नहुनेलाई साथीले किनिदिने अभियान सुरु गरौं,’ उनले भने ।

लामिछानेले आफूले कम्तीमा १० जना आर्थिक अवस्था कमजोर भएका पार्टी सदस्यका लागि स्मार्ट फाइल खरिद गरिदिने घोषणा गर्दै त्यसका लागि रकमसमेत पार्टीका कोषाध्यक्षलाई हस्तान्तरण गरेका थिए। अन्य आर्थिक रूपमा सक्षम सदस्यलाई पनि सहयोग गर्न उनले आग्रह गरे ।

उनले कर्णालीका मुगु, कालिकोट, हुम्ला र जुम्लालगायत जिल्लाबाट प्रशिक्षणमा सहभागी हुन आएका कार्यकर्तालाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए ।

‘आफ्नो साथीको खर्च अर्को साथीले सहयोग गर्दा अर्कोसँग सहयोग लिने होइन, आफ्नै पार्टीको साथीसँग सहयोग गरौं,’ उनले भने ।

लामिछानेले अब रास्वपाका अभियान, कार्यक्रम, अधिवेशन र प्रशिक्षणमा झोलाको सट्टा फाइल प्रयोग गरिने पनि घोषणा गरे ।