पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई केपी शर्मा ओली नेतृत्वको सरकारले झुटा मुद्धामा फसाउन खोजिरहेको बताएका छन् ।
सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत कास्कीमा लगेका बेला अदालत परिसरमा पत्रकारहरूसँग लामिछानेले ओली सरकार रहने बेलासम्म झुटा म्ुद्दामा मान्छेलाई फसाइरहने बताए ।
‘केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, लामिछानेले भने ।
उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पार्टी कार्यकर्तालाई निर्देशन दिए । आफूलाई अदालतप्रति विश्वास रहेको उनको भनाइ थियो । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ,’ लामिछानेले भने ।
आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए ।
सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको लामिछानेको आक्रोश थियो । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।
प्रतिक्रिया