रूपन्देही अदालतमा उपस्थित भए रवि लामिछाने

रूपन्देही अदालतमा उपस्थित भए रवि लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन्। बुटवलको सुप्रिम सहकारीको बचत ठगी र संगठित अपराधमा लामिछानेविरूद्ध मुद्दा दर्ता भएपछि लामिछाने अदालतमा उपस्थित भएका हुन् ।

बुधबार कार्यालय खुलेलगत्तै लामिछाने अदालतमा उपस्थित भएको सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । लामिछाने उपस्थित भएपछि अदालती प्रक्रियाअनुसार केही समयमै कुन इजलासमा पठाउने निश्चित हुनेछ ।

कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा मा बुटवल लगेर बयान गराइएको थियो ।

लामिछाने यसअघि कास्की पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

प्रहरीले सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ लामिछानेको नाममा ऋण गएको भेटाएको छ ।