रवि लामिछानेलाई एकैपल्ट आइलाग्यो दोहोरो तनाव


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पत्रकारितामा हुँदादेखि नै विभिन्न विवादमा पर्दै आएका थिए । उनी पत्रकारितामा नै हुँदा सार्वजनिक भएको नागरिकता विवादलाई समयमै समाधान नगर्दा उनले उपप्रधानमन्त्री, गृहमन्त्री, सांसद र पार्टी सभापति पद एकैपल्ट गुमाउनुपरेको थियो ।

उनी विवादमा पर्ने शृंखला अझै रोकिएको छैन । चितवनको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित भइसक्दा पनि उनको नागरिकता विवाद फेरि सर्वाेच्च अदालतमा पुगेको छ । पटक–पटक एकै विषय उठ्दा उनी ‘इरिटेट’ भएका छन् ।

नागरिकताका विषयमा दायर गरिएको रिटलाई सर्वाेच्च अदालतले बहसमा ल्याउन अनुमति दिएको छ । यससँगै सभापति लामिछानेले बिहीवार सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ ।’

उनले सर्वोच्च अदालतको २०७९ माघ १३ गतेको फैसलाको प्रकरण नम्बर २२, २८ र ३२ मा आफूले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य ‘कन्फर्म’ गरिएको जनाएका छन् । ‘अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेश गरी नेपाली नागरिकता पुनः कायम गराएको छु,’ उनले लेखेका छन्, ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु । यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ ।’

सभापति लामिछानेले टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ ।’

नागरिकताको विषयले लामिछानेलाई ठाउँठाउँमा घोच्ने गरेको छ । त्यस्तै दृश्य बुधवारको संसद बैठकमा देखियो । संसद बैठकमा नेपाली कांगेसका सांसद अजय चौरसियाले लामिछानेमाथि प्रश्न गर्न खोजे । तत्कालै संसद बैठकमै आक्रोशित मुद्रामा उठेर लामिछानेले त्यसको विरोध गरे ।

सभामुख देवराज घिमिरेले समय दिएपछि लामिछानेले भने, ‘सभामुख महोदय, म एक मिनेट बोल्न चाहन्छु । सम्माननीय सभामुख महोदय, सम्मानित अदालतमा भएको विषयलाई रोस्टममा बसेर उठाएर माननीयजीले के कुरा गर्न खोज्नुभएको हो ? यो सम्मानित अदालतको अपमान हो कि अथवा उहाँले सुनेका भरमा कुराकानी गर्न खोज्नुभएको हो कि ? मेरो निस्सा तपाईंलाई बुझाउनुपर्ने हो ? मैले भन्न चाहन्छु तपाईंको जानकारीका लागि माननीयज्यू, सम्मानित अदालतमा नमागे पनि मैले अस्तिका दिन गएर बुझाएर त्यसलाई दर्ता गराएर उपलब्ध गराएको छु र नेपाल सरकारसँग, सम्मानित अदालतसँग र आवश्यक पर्ने सम्पूर्ण डकुमेन्टहरू उपलब्ध गराइसकेको छु ।

सम्मानित अदालतको विषय संसद्मा उठाउन पाइँदैन सभामुख महोदय । म गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु । हल्लाको भरमा लेखिएको न्युजको हेडलाइनको विषयलाई लिएर तपाईंले ससंद्मा कुरा उठाउनुभयो भने यस्ता कुराहरू यतिधेरै हुन्छन् कि यो संसद्मा त्यही मात्रै कुरा हुन्छ । तपाईंले आफ्ना कुराहरू राख्नु होला, आफ्ना विषयहरू राख्नुहोला । हल्लाको भरमा आरोप लगाएर संसद्को रोस्टममा बसेर यस्तो कुरा गर्ने हो भने सभामुख महोदय, यो संसदको गरिमा कहाँ पुग्छ ? यो कुरा संसद्को रेकर्डबाट हटाइयोस् भन्ने माग गर्न चाहन्छु । यो हल्लाको विषय प्रस्तुत गर्ने ठाउँ होइन ।’ नागरिकताको विषयले सभापति लामिछानेले घोच्दै आएको छ ।

सभापति लामिछानेमाथि नागरिकता विवाद चलिरहेका बेला रास्वपामा अर्काे घुस काण्ड बाहिरिएको छ । पार्टीबाट निष्कासित सांसद ढाकाकुमार श्रेष्ठले सांसद बन्न २ करोड ८४ लाख रुपैयाँ घुस दिएको आरोप लगाएपछि रास्वपा विवादमा तानिएको छ । जसले गर्दा सभापति लामिछाने थप अप्ठ्यारोमा परेका छन् ।

आरोप बाहिरिएपछि रास्वपा प्रवक्ता डा. मुकुल ढकालले श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हाल्ने बताए । श्रेष्ठले सांसद बन्दा पार्टी उपसभापति डीपी अर्याल र प्रवक्ता ढकाललाई २ करोड ८४ लाख दिएको आरोप लगाएका थिए ।

प्रवक्ता ढकालले भनेका छन्, ‘केही सञ्चारमाध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौं । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दैछौं ।’

यसअघि श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो । सोही प्रकरणमा उनलाई पार्टीले कारवाही गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement