रवि लामिछानेको राहदानीबारे मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट


काठमाण्डु –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

लामिछानेले राहदानी दुरुपयोग गरेको र यसविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार रिट निवेदन दिएको युवराज पौडेल सफलले जानकारी दिए । उनले राहदानी दुरुपयोगको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै रिट निवेदन दिएको बताए ।

‘रवि लामिछानेले राहदानी दुरुपयोग गरेको सम्बन्धमा मुद्दा चलाउन र लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध आइतबार सर्वाेच्च अदालतमा रिट निवेदन दिएको छु,’ पौडेलले भने,

यसअघि नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सांसद पद खारेज गर्दै पुन: नागरिकता लिन आदेश गरेको थियो। सर्वोच्चको उक्त फैसला अनुसार लामिछानेले पुन: नागरिकता लिएका थिए।

नागरिकता विवाद मंसिर ४ मा भएको निर्वाचन अघि नै आएपनि उनी चितवन–२ बाट उम्मेदवार हुँदै निर्वाचित भएका थिए। तर, सर्वोच्चले नेपाली नागरिक नभएको ठहर गरेपछि सांसद पद गुमाएका थिए।

निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो। वैशाख १० गते उपनिर्वाचनको मिति तोकिएको छ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ। त्यसको अघिल्लो दिन सर्वोच्चमा दोस्रो रिट पुगेको हो। उक्त रिट दर्ता भएर अन्तरिम आदेश जारी भएमा भने रवि उपनिर्वाचनमा भाग लिनबाट रोकिने छन्। दरपिठ गरे वा अन्तरिम आदेश जारी गर्न अस्वीकार भएमा भने उनका लागि कानुनी बाटो खुला रहनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement