काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल भोलि सोमबारदेखि भारत भ्रमण गर्ने भएको छ ।
भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नबिनको औपचारिक निमन्त्रणामा रास्वपा टोली भारत जान लागेको हो ।
भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले आईतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नबिन लगायत पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्नेछ ।
भ्रमणको मुख्य उद्देश्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र भारतीय जनता पार्टी (भाजपा) बिच ‘पार्टी–टू–पार्टी’ (दलगत तहमा) सम्बन्ध एवं सम्पर्कको सुरुवात गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ ।
भ्रमणका दौरान दुवै दलका नेताहरूबिच दलीय सांगठनिक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनकेन्द्रित राजनीतिक गतिविधिका विषयमा विचार आदानप्रदान गर्ने अवसर मिल्ने भाजपाले जनाएको छ ।
भारतीय जनता पार्टीले रास्वपाको प्रतिनिधिमण्डललाई स्वागत गर्दै भ्रमणका क्रममा हुने रचनात्मक संवाद र छलफलप्रति उत्सुक रहेको जनाएको छ ।





प्रतिक्रिया