प्रकाशमानलाई मिश्रको जवाफः कांग्रेसले ३० वर्षमा काम गरेको भए हामी राजनीतिमा आउनु नै पर्ने थिएन


काठमाण्डु – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई जवाफ फर्काएका छन् ।

नेपाल संवतको नयाँ वर्ष सुरु भएको अवसरमा शुक्रबार बिहान काठमाण्डुको बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले आफू र आफ्नो पार्टीको आलोचना गरेपछि अध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन् ।

कार्यक्रममा कांग्रेस नेता सिंहले भनेका थिए, ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरू बस्ने ठाउँ भन्छन् । पढेलेखेका मतदाता छन् । चुनावका बेलामा नयाँ–नयाँ पार्टीहरू आउँछन् । काम केही गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ । पार्टी सानो छ, तर पटकपटक विभाजित भएको छ । आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरूको पर्दाफास भएको छ ।’

मिश्रले जवाफ फर्काएका छन्, ‘अनि भन्नुहोलाः तपाईंहरूले गत ३० वर्षमा काम गर्न सकेको भए हामी राजनीतिमा आउनु नै पर्ने थिएन । ३० वर्षमा केही गर्न नसक्ने, देशको राजनीतिदेखि, पुलिस, प्रशासन, विश्वविद्यालय, न्यायालय, समाज सबै बिगार्ने तपाईंहरू, अनि दोष लगाउने हामीलाई ! हाम्रा ३ जना सांसदले बागमती प्रदेशसभामा गरेको कामको अत्यन्तै राम्रो प्रशंसा भएको छ । अन्यत्र काम गरेर देखाउन हामीलाई अहिलेसम्म जन अनुमोदन प्राप्त भएको छैन । जन अनुमोदन प्राप्त भए पछि पनि काम गर्न सकेनौँ भने अनि भन्नुहोलाः नारामात्र दिएर हुँदैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement