रविन्द्र मिश्रको संगीन आरोपः भदौ २३ र २४ को विद्रोहमा विदेशी जासुसी शक्तिको हात छ

रविन्द्र मिश्रको संगीन आरोपः भदौ २३ र २४ को विद्रोहमा विदेशी जासुसी शक्तिको हात छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राप्रपाका पूर्ववरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत वर्ष भदौ २३ र २४ गते भएका घटनाको पछाडि विदेशी जासुसी संस्था वा शक्तिको भूमिका रहेको संगीन आरोप लगाएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत मिश्रले ती घटनालाई सामान्य जनविद्रोहका रूपमा मात्र बुझ्न नहुने तर्क गरेका छन् ।

नेपाली युवामा रहेको असन्तुष्टि, पीडा, आक्रोश र परिवर्तनको अपेक्षालाई उनीहरूको जानकारीबिनै अन्तर्राष्ट्रिय शक्तिले दुरुपयोग गरेको आरोप उनको छ ।

मिश्रले भदौ २३ र २४ का घटनालाई विदेशी–जासुसी विद्रोह’ को संज्ञा दिए । आफूले पहिल्यैदेखि पहिलो दिनलाई ‘जेनजी विद्रोह’ र दोस्रो दिनलाई ‘घुसपैठ विद्रोह’ भन्दै आएको उल्लेख गरेका छन् ।

केही जासुसी घटनासम्बन्धी सामग्री र विद्रोहका उदाहरण अध्ययन गरेपछि आफ्नो पुरानो बुझाइमा परिवर्तन आएको मिश्रले बताए ।
जनताको असन्तुष्टिलाई पर्दा पछाडिका शक्तिले आफ्नो उद्देश्य पूरा गर्न प्रयोग गर्ने घटना विश्वमा देखिएको उल्लेख गर्दै मिश्रले नेपालमा पनि त्यस्तै प्रकारको ‘कभर्ट अपरेसन’ भएको दाबी गरे ।

करिब ६ घण्टाभित्र राज्यका प्रमुख संरचनामध्ये कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका साथै राष्ट्रप्रमुखको निवाससमेत आगजनीको निशानामा पर्नु सामान्य घटनाका रूपमा लिन नसकिने तर्क मिश्रको छ ।

‘भदौ लाग्यो । गत वर्ष भदौ २३ र २४ मा भएको जनधनको पीडाले हामीलाई अझै छोडेको छैन । कहिल्यै छोड्ने छैन । मैले आजसम्म पहिलो दिनलाई ‘जेनजी विद्रोह’ र दोस्रो दिनलाई ‘घुसपैठ विद्रोह’ को संज्ञा दिँदै आएको थिएँ’, उनले लेखेका छन्, ‘संसारका तथ्यमा आधारित केही उत्कृष्ट जासुसी सिनेमा हेरेपछि, केही विद्रोहका बारे पढेपछि र धेरै सोचविचार गरेपछि, मैले भदौ २३ र २४ को घटनालाई संसारकै एउटा सबैभन्दा सफल ‘विदेशी जासुसी विद्रोह’ को संज्ञा दिने निर्णय गरेको छु ।’

यद्यपि त्यस घटनाका कथित योजनाकारहरू आफ्नो उद्देश्यमा सफल भए वा उनीहरूको अभियान अझै जारी छ भन्नेबारे आफूलाई कुनै जानकारी नभएको मिश्रले बताए ।

घटनासँग जोडिएका योजना र योजनाकारका गोप्य विवरण भविष्यमा सार्वजनिक भए त्यसले थप तथ्य बाहिर ल्याउने उनको अपेक्षा छ । त्यस्ता विवरण सार्वजनिक भएर त्यसमा आधारित चलचित्र बने विश्वकै चर्चित जासुसी चलचित्रमध्ये एक बन्न सक्ने उनको टिप्पणी छ ।

मिश्रले भदौ २३ र २४ का घटनाको गहिरो अनुसन्धान र अध्ययन आवश्यक रहेको बताएका छन् ।

नेपालको दीर्घकालीन हितसँगै आन्तरिक तथा क्षेत्रीय शान्ति र स्थिरताका लागि पनि ती घटनाको सत्यतथ्य बाहिर आउनुपर्ने भनाइ मिश्रको छ ।