चाप बढेपछि राहदानी विभागले दैनिक १ हजार ५०० विद्युतीय राहदानी उत्पादन गर्दै

चाप बढेपछि राहदानी विभागले दैनिक १ हजार ५०० विद्युतीय राहदानी उत्पादन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढेसँगै विद्युतीय राहदानी (ई–पासपोर्ट) को माग उल्लेख्य रूपमा बढेको छ ।

बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले उत्पादन क्षमता विस्तार गर्दै हाल दैनिक करिब १ हजार ५०० वटा विद्युतीय राहदानी उत्पादन तथा छपाइ गरिरहेको जनाएको छ ।

मंगलबार जारी प्रेस विज्ञप्तिमा विभागले राहदानी आवेदन, विवरण प्रमाणीकरण, उत्पादन तथा वितरण प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगिएको जनाएको छ । बढ्दो मागलाई समयमै सम्बोधन गर्न उत्पादन क्षमता निरन्तर विस्तार भइरहेको पनि विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार ईपीएसमार्फत दक्षिण कोरिया जाने नेपालीको संख्या बढेसँगै राहदानी बनाउन आउने सेवाग्राहीको चाप बढेको हो । यसबाहेक वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अन्य प्रयोजनका लागि विदेश जाने नेपालीको संख्या बढ्दै जाँदा राहदानीको माग पनि निरन्तर वृद्धि भइरहेको छ ।

हाल विद्युतीय राहदानी सेवा देशभरका ७७ जिल्ला प्रशासन कार्यालय, विभिन्न इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत उपलब्ध भइरहेको विभागले जनाएको छ । सेवाग्राहीको आवश्यकता अनुसार आगामी दिनमा सेवा विस्तार र प्रणालीलाई थप सुदृढ बनाइने योजना रहेको पनि विभागले उल्लेख गरेको छ ।

नेपालमा विद्युतीय राहदानी वितरणको औपचारिक सुरुआत २०७८ मंसिर १ गते (१७ नोभेम्बर २०२१) भएको थियो । प्रारम्भिक चरणमा दैनिक करिब १०० वटा मात्र राहदानी जारी हुने गरेकोमा हाल दैनिक १ हजार ५०० वटा राहदानी उत्पादन हुने अवस्थामा पुगेको विभागले जनाएको छ ।

विद्युतीय राहदानी प्रणाली अत्याधुनिक प्रविधिमा आधारित भएकाले सञ्चालनका क्रममा देखिन सक्ने प्राविधिक समस्यालाई प्राथमिकताका साथ समाधान गरिरहेको विभागले जनाएको छ । आगामी १ महिनाभित्र देखिएका प्राविधिक समस्या समाधान गर्ने र ३ महिनाभित्र प्रणालीलाई पूर्ण रूपमा स्थिर बनाउने गरी प्राविधिक तथा व्यवस्थापकीय सुधार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

राहदानी विभागले अत्यावश्यक सरकारी दस्तावेज भएकाले वैदेशिक रोजगारी, अध्ययन, उपचार, पारिवारिक तथा अन्य अत्यावश्यक प्रयोजनका सेवाग्राहीलाई प्राथमिकताका आधारमा सेवा प्रदान गरिरहेको जनाएको छ । प्रणाली स्थिरीकरणको अवधि कायम रहेकाले अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन सेवाग्राहीलाई अनुरोध गरेको छ ।