प्रहरीको गोलीबाट मारिएका सिंहको परिवारलाई १० लाख दिने सरकारको निर्णय


काठमाडौं – सर्लाहीमा प्रहरीको गोलीबाट मारिएकाको परिवारलाई सरकारले १० लाख राहत दिने निर्णय गरेको छ ।

गत असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने सरकारले निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मृतक सिंहको परिवारलाई राहत दिने र घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचारका क्रममा भएको खर्चको भएको बिल सरकारले तिरिदिने निर्णय भएको जानकारी दिए ।

सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो । मृतकका परिवार र गाउँलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले चलाएको गोली टाउकोमा लागेर सिंहको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement