काठमाण्डु – भारतमा नीट पेपर लीक प्रकरणलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विपक्षी दलहरूले गरेको प्रदर्शनका क्रममा लोकसभाका विपक्षी नेता राहुल गान्धी, कांग्रेस नेत्री प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ ।
बीबीसीका अनुसार राहुल गान्धीको नेतृत्वमा कांग्रेस सांसदहरूले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास लोक कल्याण मार्ग बाहिर धर्ना दिएका थिए । प्रदर्शनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएर दिल्लीस्थित छत्रसाल स्टेडियम लगिएको जनाइएको छ ।
कांग्रेसले विद्यार्थी र युवाले न्याय नपाएसम्म प्रधानमन्त्री निवास अगाडिको आन्दोलन नरोकिने चेतावनी दिएको थियो । पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग दोहोर्याएको छ ।
कांग्रेस प्रवक्ता पवन खेडाले राहुल गान्धी र प्रियंका गान्धीमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै नियन्त्रणमा लिइएका नेताहरूलाई कहाँ लगिएको भन्ने जानकारीसमेत सुरुमा नदिइएको दाबी गरेका छन् ।
यसअघि आन्दोलनरत कांग्रेस नेताहरूसँग भेट गर्न केन्द्रीय मन्त्री जितेन्द्र सिंह प्रधानमन्त्री निवास पुगेका थिए । भेटपछि उनले सामाजिक सञ्जाल एक्समार्फत राहुल गान्धीले गरेको प्रतिबद्धताबाट पछि हटेको दाबी गरेका छन् । यद्यपि जितेन्द्र सिंहको दाबीबारे कांग्रेसले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मंगलबार पहिलो पटक नीट पेपर लीक प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । यद्यपि उनको भनाइ प्रत्यक्ष रूपमा नभई केन्द्रीय संसदीय कार्यमन्त्री किरेन रिजिजूमार्फत सार्वजनिक भएको छ ।
यसैबिच शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै अन्य राजनीतिक समूहहरूले पनि नयाँ दिल्लीको जन्तरमन्तर क्षेत्रमा विरोध प्रदर्शन जारी राखेका छन् ।




प्रतिक्रिया