नयाँदिल्ली- भारतमा विशेष मतदाता सूची पुनरावलोकन (एसआई) र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको भूमिकालाई लिएर विपक्षी दलहरूले विरोध प्रदर्शन थालेका छन्।
कांग्रेस नेता राहुल गान्धीसहित विपक्षी सांसदहरू सोमबार नयाँदिल्लीस्थित कन्स्टिच्युसन क्लबबाट बाराखम्बा रोडतर्फ बसमा गएका छन्। त्यहाँबाट सर्वोच्च अदालतसम्म मार्च गर्ने उनीहरूको तयारी छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार राहुलसहित विपक्षी नेताहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध नाराबाजी गरेका छन्।
समाजवादी पार्टी, शिवसेना (उद्धव ठाकरे समूह), झारखण्ड मुक्ति मोर्चा र तृणमूल कांग्रेसका सांसदहरू पनि विरोध कार्यक्रममा सहभागी भएका छन्।
राहुलले विपक्षीहरूको मार्चलाई ‘शिवजीको जन्ती’सँग तुलना गर्दै यसमा जोकोही सहभागी हुन सक्ने बताएका छन्।
राहुलको दाबी, ‘ज्ञानेश कुमारका म्यासेज आउँछन्’
पत्रकार सम्मेलनमा राहुल गान्धीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारसँग सम्पर्क हुने गरेको दाबी गरेका छन्।
उनले ज्ञानेश कुमारले आफ्नो पत्रकार सम्मेलन पनि हेरिरहेको बताएका छन्। राहुलले कुमारलाई पदबाट राजीनामा दिन र आफूले गरेका कामबारे सत्य बाहिर ल्याउन आग्रह गरेका छन्।
विपक्षी गठबन्धनले मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) रोक्न, कथित ‘भोट चोरी’ को छानबिन गर्न र ज्ञानेश कुमारको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेको छ।
भेट दिन अस्वीकार
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले विपक्षी नेताहरूलाई भेट दिन अस्वीकार गरेका छन्। अदालतमा विचाराधीन विषयमा प्रशासनिक रूपमा हस्तक्षेप गर्न नमिल्ने भन्दै उनले कानुनी प्रक्रिया अपनाउन विपक्षीलाई सुझाएका छन्। सर्वोच्च अदालतले भने कानुनअनुसार निवेदनमाथि सुनुवाइ गर्न सक्ने जनाएको छ।
यसैबीच, भारतका केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले कांग्रेसले लगातार चुनाव हारिरहेका कारण संवैधानिक संस्थालाई दोष दिएको आरोप लगाएका छन्।
कांग्रेसले भने निर्वाचन प्रक्रियाको निष्पक्षता र मतदाताको अधिकारको विषय उठाउँदै आएको छ।



प्रतिक्रिया