कुन छिमेकीको रेल पहिले ? यस्तो छ तयारी


काठमाडौँ -नेपालले रेल मार्ग निर्माणको लिखित समझदारी गर्न दुवै छिमेकी भारत तथा चीनलाई प्रस्ताव पठाएको छ । धेरै अघिदेखि छलफल भए पनि दुईपक्षीय सहमतिका लागि पठाइएको पत्र सँगैजस्तो परेको छ । यतिखेर सरकार दुवै देशको प्रतिक्रिया पर्खिइरहेको छ ।

चीनको रेल सीमामा आइपुग्नुभन्दा धेरैअघि छिमेकी भारतले नेपालभित्रै रेल गुडाइसकेको भए पनि काठमाडाैं जोड्ने रेलबारे सँगै प्रक्रिया अघि बढेको हो ।

रेल विभागका अनुसार भारतको जयनगरबाट जनकपुर जोड्ने रेलमार्गलाई नयाँ बनाएर आगामी पुसदेखि पुन: सञ्चालनमा ल्याउने तयारी छ । उक्त रेललाई जनकपुरबाट बर्दिबाससम्म पुर्‍याउन काम भइरहेको छ । पूर्ण सञ्चालनमा आउँदा जयनगर–बर्दिबास ६९ किलोमिटर अन्तरदेशीय रेल सञ्चालन हुनेछ । हुन त सन् १९३७ मा नै नेपालमा रेल सञ्चालनमा थियो ।

इस्ट इन्डिया कम्पनीले नेपालमा रेल सञ्चालन गरेको भए पनि अहिलेसम्म राजधानी जोड्ने रेलका लागि सरकारले छिमेकीकै मुख ताकिरहेको छ । चीन र भारत दुवैले आफ्नो मुलुकको रेल काठमाडौं ल्याउने बताइसकेका छन् । त्यही आधारमा नेपालको प्रस्ताव गएको हो । नेपालले दुवैतर्फ आफ्नो तवरबाट गरिएको सम्भाव्यका आधारमा तयार प्रस्ताव पठाएको हो ।

चीनले नेपालमा रेल ल्याउने सम्भावनाबारे अध्ययन गरेर सम्भव भएको माइन्युट गरिसकेको रेल विभागका प्रवक्ता कृष्णभक्त उपाध्यायले बताए । ‘अब रेलको सम्भाव्य होइन, विस्तृत अध्ययन गर्ने र प्राविधिक कार्य अघि बढाउने सहमति हुने हो,’ उनले भने, ‘चीन र भारत दुवैतर्फ रेलको प्रस्ताव गइसकेको छ । यसमा सहमति हुन र उनीहरूको प्रतिक्रिया आउन बाँकी छ ।’ चीनसँग भर्खरै रेलबारे वार्ता गरेर फर्केका उपाध्यायले अब चीनले बनाउने प्रक्रिया अघि बढेको बताए ।

‘कुन तवरमा बनाउने भन्ने विषय राजनीतिक सहमतिमा भर पर्छ । यसमा कुराकानी भइरहेको होला । रफ्तारमा काम अघि बढे आठ वर्षमा रेलवे लिक काठमाडौं जोडिनेछ ।’ चीनसँग मात्र होइन, भारतसँग पनि यस विषयमा छलफल भएको विभागले जनाएको छ । ‘नेपालले दुईपक्षीय सहमतिका लागि भारत र चीन दुवैलाई प्रस्ताव गरिसकेको भौतिक पुनर्निर्माण तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर विनोद भट्टराईले बताए । ‘हामीले आफ्नोतर्फबाट काम गरेर प्रस्ताव गरेका हौं । अब उनीहरूको प्रतिक्रियापछि सहमतिमा जानेछ । यो जति छिटो भयो उति छिटो काम अघि बढ्छ,’ उनले भने ।

काठमाडौं–वीरगन्ज एक सय किलोमिटर रेलमार्ग हुनेछ भने काठमाडौं–रसुवागढी ७५ किलोमिटर । नेपालमा बन्ने रेलको गति १ सय ८० देखि दुई सय किलोमिटर प्रतिघण्टाको हुनेछ । यसको लिक १ हजार ४ सय ३५ एमएम रहने रेल विभागको अध्ययनले देखाउँछ । ‘यो रेलमार्ग तयार गर्दा नेपालले ध्यान दिनुपर्ने विषय हो ट्रान्स एसियन नेटवर्कमा नेपाललाई जोड्ने,’ रेल विभागका अधिकारी भन्छन्, ‘त्यसतर्फ भन्दा पनि हामी उत्तर दक्षिण रेलमा अडिरहेका छौं । नेटवर्कको मुख्य मार्ग पूर्वपश्चिम अनि त्यसमा यो उत्तरदक्षिणको लाइन जोड्ने हो ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement