काठमाण्डु – देशका अधिकांश भूभागमा गर्मी बढिरहेका बेला जल तथा मौसम विज्ञान विभागले भोलि बुधबारदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको र कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिमा मानन्धरले जानकारी दिइन् ।
उनले भनिन्, ‘मनसुनी हावा सक्रिय हुन नसकेका कारण नेपालको पूर्वी क्षेत्रमा भित्रिएको मनसुन देशभर फैलिन समय लागिरहेको छ । हाल वर्षा नहुँदा गर्मी पनि बढेको छ, तर आज कोशी, बागमती तथा लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको छ । भोलिदेखि उपत्यका लगायतका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । बादल पनि लाग्ने हुँदा बुधबारदेखि बिस्तारै तापक्रम घट्नेछ ।’
महाशाखाका अनुसार बुधबार बिहानसम्मको मौसम पूर्वानुमान गर्दै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
प्रतिक्रिया