ठोरीमा सर्वाधिक १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

ठोरीमा सर्वाधिक १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी वर्षा भइरहेको छ ।

देशभर नै बदली भएकाले तापक्रम शनिबार उल्लेख्य रूपमा घटेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पर्सा जिल्लाको ठोरीमा १९१.२ मिलिमिटर वर्षा भएको छ भने यो धेरै भारी वर्षा नजिक हो ।

अन्य केही जिल्लामा मकवानपुरको भोर्लेनी, गढी र रजैयामा पनि भारी वर्षा (५० मिमिभन्दा माथि) भएको छ । बाँकेमा पनि ४८ मिलिमिटर (भारी नजिक) पानी परेको छ ।

पछिल्लो १ घण्टामा कञ्चनपुर, डोटी, नवलपरासी सुस्तापश्चिम र रूपन्देहीमा पनि वर्षा भएको छ । मौसमविद् सरोज पुडासैनीले तराईमा मंगलबारसम्मै बदली रहने हुनाले गर्मी घट्ने जानकारी दिए । उनका अनुसार केही ठाउँमा भारीसम्मै वर्षा हुने पनि जानकारी दिए ।

यो समय प्रि–मनसुन भएकाले हावाहुरी चट्याङ पनि हुने भएकाले सावधानी अपनाउन उनले अनुरोध गरे । विभागमा प्राप्त अभिलेखअनुसार शनिबार नेपालमा तापक्रम ३६ डिग्रीभन्दा तलै रहेको छ । विभागका अनुसार शनिबार सबैभन्दा बढी धनगढीमा ३५.८ डिग्री तापक्रम रेकर्ड भएको छ ।

चन्द्रगढी विमानस्थलमा ३४.४, जनकपुरमा ३३, धरानमा ३३.७, विराटनगरमा ३३.२, भैरहवामा ३४ र नेपालगञ्जमा ३३.९ डिग्री तापक्रम पुगेको छ । काठमाण्डुमा अधिकतम तापक्रम २५.३ डिग्री रहेको छ ।

यसअघि यस वर्ष काठमाण्डुमा ३० डिग्री पुगेको थियो भने नेपालगञ्ज लगायत केही जिल्लामा ४१ डिग्रीमाथि तापक्रम पुगेको थियो ।