मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको जानकारी गराउँदै आगामी हप्ता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिए ।

उनका अनुसार मंगलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ । उनका अनुसार शनिबार राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आईतबार राति कोशी प्रदेशका पहाडी र तराई भूभागका १–२ स्थानमा भारी वर्षा तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाइएको छ । सोही दिन सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना छ ।

सोमबारदेखि भने वर्षा थप बढ्नेछ । सोमबार देशभर साधारणतया बादल लाग्ने तथा देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाइएको छ ।

कोशी प्रदेशका पहाडी र तराई भूभागका १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि आउने विभागले जनाएको छ । सोमबार रातिदेखि भने थप सक्रिय भई कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

मधेश प्रदेशका १–२ स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

मौसमविद् धर्मराज उप्रेतीका अनुसार असार १४ देखि १७ गतेसम्ममा मनसुन थप सक्रिय भई असार १६ देखि १८ गतेसम्ममा भारी वर्षा गराई रोपाइँको वातावरण बनाउने जनाइएको छ । सोमबारपछि भने पश्चिम नेपाल बाँकेदेखि कञ्चनपुरसम्मै वर्षा गराउने उनले जानकारी गराएका छन् ।