काठमाण्डु – असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने जोखिम न्युनीकरणको पूर्वतयारी गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ ।
गृह सचिव केदारनाथ शर्माको आतिथ्यमा भएको छलफलमा आगामी वर्षाको सम्भावित अवस्था, जोखिमयुक्त जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा सर्वसाधारणलाई प्रवाह गर्नुपर्ने सूचना र सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था लगायतका विषयमा छलफल भएको हो ।
छलफलमा गृह मन्त्रालय, नेपाल मौसम विज्ञान विभाग, जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखा, ३ वटै सुरक्षा निकाय, नेपाल पर्यटन बोर्ड तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतका निकायका प्रतिनिधिको सहभागिता थियो ।
काठमाण्डु उपत्यकाबाहेक अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भने भर्चुअल माध्यमबाट छलफलमा सहभागी भएका थिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जोखिम देखिएका क्षेत्रमा विशेष सतर्कता अपनाउँदै आवश्यक पूर्वतयारीमा रहन आग्रह गरेका छन् ।
सम्भावित भारी वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायबिच समन्वय, पूर्वसूचना प्रवाह र आवश्यक अवस्थामा सवारी आवागमन रोक्ने सहितका उपायबारे छलफल गरिएको छ ।




प्रतिक्रिया