सबैभन्दा बढी सिमरामा ३११ मिलिमिटर वर्षा, आइतबारसम्म झरी (३ दिनकाे माैसमसहित)


काठमाडौं— बिहीबारदेखिको झरी आइतबारसम्म लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मध्य र पूर्वी नेपालको तराई र पहाडी क्षेत्रमा अबिरल वर्षा हुँदा हालसम्म बाढीपहिरोमा परी १७ जनाले ज्यान गुमाएका छन्। मौसम विज्ञान विभागका अनुसार २४ घन्टाको अवधिमा सबैभन्दा बढी वर्षा सिमरामा भएको छ। सिमरामा ३ सय ११ मिलिमिटर वर्षा भएको हो।

काठमाडौंमा १ सय १५.२ मिलिमिटर वर्षा भएको छ, भने ओखलढुंगामा १ सय १ मिलिमिटर पानी परेको छ।  धनकुटामा ७५.५ मिलिमिटर वर्षा भएको छ भने भैरहवामा ४३ मिलिमिटर पानी परेको छ।

पोखरामा ४.७ मिलिमिटर वर्षा मापन भएको छ।  दीपायल, धनगढी र डडेल्धुरामा भने निकै कम वर्षा भएको विभागले जनाएको छ।

सडकमा पहिरो खसेपछि गए रातिदेखि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गोलन्जोर र सुनकोशी गाउँपालिकामा बीपी राजमार्ग अवरुद्ध भएको छ। यसैबीच, झरी आइतबार रातिसम्म लम्बिने मौसम विद्हरुले जनाएका छन्।

यस्तो छ आगामी तीन दिनको मौसम

असार २७ गते (शुक्रबार)

दिउँसो: देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुनेछ। देशको केहि स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राति: देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरूमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वक्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

असार २८ गते (शनिबार)

दिउसो: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ। देशका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ।

राति: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्यक्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

असार २९ गते (आइतबार)

दिउसो: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारी वर्षा समेत हुनेछ।

राति: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको खासगरी पूर्व र मध्यक्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरूमा धेरै भारीसमेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहाव, स्तर बढ्न सक्ने भएको उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ। साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्क रहनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement