राजपा सरकारमा जाने चर्चाः राजेन्द्र महतो भन्छन्– नजाने गाउँको बाटो किन सोध्ने


जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजेन्द्र महतोले समाजवादी पार्टीसँगको एकताको सम्भावना तत्काल शून्य रहेको बताएका छन् । समाजवादी पार्टीसँग राजपाले एकता गर्ने पटक–पटक अभिव्यक्ति फेर्दै राजपा नेपालका संयोजक महतोले तत्काल एकताको सम्भावना न्यून रहेको बताए ।

शुक्रबार जनकपुरधामस्थित विमानस्थलमा पत्रकारको जिज्ञासामा अध्यक्ष महतोले समाजवादी पार्टी सरकारसँग नबाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि क्षीण भएको बताए । उनले भने, ‘देशमा कांग्रेस र कम्युनिस्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो छ, त्यसलाई हामी पुरा गर्न लागेका छौं, तर समाजवादी पार्टी सरकार नछोडेसम्म एकता सम्भावन छैन ।’

राजपा नेपाल वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडी बढ्ने स्पष्ट पार्दै सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने भएकोले समाजवादीसँग तत्काल एकता असम्भव रहेको बताए ।

महतोले सरकार बाहिर रहेका सम्पूर्ण शक्तिलाई जनभावना अनुरुप वैकल्पिक शक्ति निर्माण गर्नमा सहयोगको आग्रह गरे । उनले लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीसँग एकताको कुरा भइरहेको जानकारी दिए ।

मन्त्रिमण्डल पुनर्गठनको विषयमा सञ्चारकर्मीको प्रश्नमा महतोले भने, ‘नजाने गाउँको बाटो किन सोध्ने, हामी सरकारमा छैनौँ, सरकार हाम्रो सरोकारको विषय पनि होइन, जो सरकारमा छन् उनैले जानोस् हामी प्रतिपक्षी दल हौं ।’

महतोले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताउँदै संविधान संशोधन, आन्दोलनकारी साथीहरु विरुद्धको मुद्दा फिर्ता लगायतका मागहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने बताए ।

उनले भने, ‘हाम्रो माग सम्बोधन नभएसम्म सरकारलाई समर्थन गर्न सक्दैनौँ, त्यसैले त सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement