राज्यका सबै संयन्त्रहरु एकिकृत नहुँदासम्म राष्ट्रिय सुरक्षामा चुनौती :रक्षामन्त्री पोखरेल


काठमाडौं – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्र रक्षाको जिम्मेवारी नेपाली सेनाले वा सरकारले मात्र गर्न सम्भव नहुने भएकोले नागरिकको समेत साथ र सहयोग अपरिहार्य भएको बताएका छन् ।

त्रिभुवन आर्मी अर्फिसर्स क्लवमा बिहीबार नेपाली सेनाले प्रकाशित गरेको युनिटी जर्नल सार्वजनिक गर्दै रक्षामन्त्री पोखरेलले राष्ट्र रक्षाको जिम्मेवारी सेनाले वा सरकारले मात्र गर्न सम्भव नहुने भएकोले नागरिकको समेत साथ र सहयोग अपरिहार्य भएको बताएका हुन् ।

राज्य शक्तिका सबै संयन्त्रहरु एकिकृत भई परिपक्व नहुँदासम्म राष्ट्रिय सुरक्षामा चुनौती रहने उनले बताए । सबै चुनौतीहरुको पहिचान गरी उपयुक्त रणनीति तयार गर्न अनुसन्धानात्मक प्रकाशनहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले युनिटी जर्नल पनि राष्ट्रिय सुरक्षाको विषयमा महत्वपूर्ण रहने बताए ।

उनले राष्ट्रिय सुरक्षाका चुनौति र राष्ट्रिय एकताका अवसरहरु पहिचान गरी नेपालको भू-राजनीति र भू-रणनीतिका विभिन्न पक्षहरुको अनुसन्धान र अध्ययनको आवश्यकता रहेको समेत बताए । राष्ट्रिय सुरक्षाका विषयमा योग्य जनशक्ति निर्माण गर्ने उद्देश्यले सरकारले नेशनल डिफेन्स युनिभर्सिटी स्थापनाको कामलाई अगाडि बढाएको समेत बताए ।

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रको विकास र समृद्धिको लागि राष्ट्रिय सोचमा एकता आवश्यक पर्ने र त्यसको आधार निर्माणमा जोड दिए । राष्ट्रिय एकताको महत्व स्थापित गर्न युनिटी जर्नल कोषेढुङ्गा सावित हुने विश्वास समेत उनले गरे ।

प्रधान सेनापति थापाले भू-राजनीति र भू-रणनैतिक अवस्थितिले राष्ट्रको सुरक्षामा प्रत्यक्ष प्रभाव परेको बताए । उनले क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय रुपमा विकास हुँदै गएको परिस्थितिले नेपालको भूराजनीतिक र रणनीतिक महत्व पनि बढ्दै गएको बताए । उनले युनिटी जर्नल सबै नेपालीमा राष्ट्रिय एकताको सोच र विचार विकास गर्नका लागि र राष्ट्रिय सुरक्षाको रणनीतिक विकासका लागि सहयोगी हुने विश्वास रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement