उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट


काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं सांस्कृतिक रुपमा पनि निकै घनिभूत रहेको बताए ।

उनले भने, ‘दुई देशबीचको जनस्तरको सम्बन्ध तथा आपसी सहयोगले नेपाल–चीनबीचको सम्बन्धको आयामलाई थप विस्तार गरेको अनुभूति गरेको छु, नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध छ र चीन विरोधी कुनै पनि कसिमका गतिविधिका लागि आफ्नो भूमिको दुरुपयोग हुन नदिने संकल्पमा नेपाल सरकार दृढ रहेको स्पष्ट पार्न चाहन्छु ।’

नेपाल चीनको शान्ति, स्थायित्व एवं विकासमा योगदान गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउँदै मन्त्री भण्डारीले पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान भएको बताए । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि चीन महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको उनको भनाइ थियो ।

मन्त्री भण्डारीले द्विपक्षीय नाकाहरु पुनः सञ्चालनमा आएपछि दुई देशीय व्यापारको मात्रा उल्लेख्य रूपमा बढेको बताए । दोस्रो ठूलो व्यापार साझेदार भए पनि आयात र निर्यातबीच ठूलो खाडल देखिएको भण्डारीको भनाइ थियो ।

चिनियाँ सरकारको सहयोगमा रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह तोकिएको मितिमा सम्पन्न हुनेमा मन्त्री भण्डारीले विश्वास व्यक्त गर्दै मुस्ताङको कोरालामा पूर्वाधार विकास गर्ने विषयमा नेपाल र चीन सरकारबीच सैद्धान्तिक रुपमा सहमति भइसकेकाले छिट्टै कार्यान्वयनमा जाने जानकारी दिए । चीन सरकारको अनुदान सहयोगमा दैलेखमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनामार्फत पेट्रोलियम अन्वेषण कार्य द्रुत गतिमा अगाडि बढिरहेको मन्त्री भण्डारीले जानकारी गराए ।

भेटका क्रममा चिनियाँ राजदूत सोङले चीन–नेपाल आपसी सम्बन्ध विस्तार गरी सौहाद्र वातावरण सिर्जना गर्न समर्पित रहेको बताए । व्यापार र विकास निर्माणमा साझेदारी तथा नेपालको आर्थिक विकास र समृद्धिको साझेदारका रुपमा चीनले काम गरिरहेको बताए ।

राजदूतका रुपमा आफूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै अन्य मन्त्रालयसँगसमेत अन्तरक्रिया गरी सहकार्यको वातावरण बनाउँदै गएको सोङको भनाइ छ ।