कोशीमा सभामुख लिएको विषयमा दुईमत देखियो तर यो नौलो कुरा होइन : अध्यक्ष लिङ्देन


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा पार्टीले सभामुख लिएको विषयमा दुईमत देखापरेको बताएका छन् ।

भृकुटीमण्डपमा राप्रपाले आयोजना गरेको राष्ट्रिय एकता दिवसमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले भने, ‘सभामुखमा हामी कोशीमा मात्रै सहभागी भएको होइन, योभन्दा अगाडि बागमतीमा पनि हाम्रो सहभागिता छ । लुम्बिनी प्रदेशमा उपसभामुखका रूपमा हाम्रो सहभागिता छ । यो नौलो कुरा होइन ।’

परिवर्तित परिस्थितिमा आफू देशबाहिर रहेका बेला प्रदेशले निर्णय लिएर सभामुखमा सहभागिता जनाएको उनले बताए । ‘अहिले परिवर्तित सन्दर्भमा कोशी प्रदेशमा सभामुखमा हामी जाने कि नजाने भन्ने छलफलकै विषय थियो । हतार गर्नुहुन्न भन्ने हामी सबैको सहमति थियो । म देशबाहिर भएका बेला हाम्रो कोशी प्रदेशका साथीहरूले निर्णय गरेर र सहभागी हुनुभयो,’ उनले भने, ‘यस विषयमा विभिन्न मतहरू छन् । एकथरि साथीहरूको चर्को स्वरमा तुरुन्तै फिर्ता हुनुपर्छ भन्ने पनि छ । अर्कोतर्फ साथीहरूको के तर्क छ भने कोशीमा मात्र होइन, हामी त अगाडिदेखि नै सहभागी छौं । प्रदेश सभामा होस् वा प्रतिनिधि सभामा । यदि संसद्मा हामी छौं भने त्यसको सर्वोच्च पद सभामुख हामीले कसैसँग शर्त नगरिकन पाउँछौं भने त्यो कसरी अन्यथा हो, त्यो कार्यकारी पद पनि होइन भन्ने तर्क पनि साथीहरूको छँदैछ । सदस्य हुने सभामुख चाहिँ नहुने भन्ने कुरा पनि छ ।’

सभामुखमा रहने कि फिर्ता हुने भन्नेबारे केन्द्रीय कार्यसमितिको बैठक बसेर उचित निर्णयमा पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement