राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन : अध्यक्ष लिङ्देन

राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन : अध्यक्ष लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यसत्ताविरुद्ध सुरु गरेको परिवर्तनको लडाइँ एकैदिनमा पूरा नहुने बताएका छन् ।

मंगलबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले चाहनाले मात्र राजा ल्याउने सपना पूरा नहुने भन्दै योजना र रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘राज्यसत्ताविरुद्धमा जुन परिवर्तनका लागि लडाइँ सुरु गरेका छौं, त्यो एकैदिनमा हुने कुरा होइन । मैले पाएँ भने त आजै सत्ता फेरौं, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याऊँ भन्ने छ । तर हाम्रो चाहनाले र अहिले भएको शक्तिले इच्छा पूरा गर्छ कि गर्दैन भन्ने कुरा हेर्नुपर्छ । त्यसकारण योजना, रणनीति भन्ने कुरालाई बिर्सिनु हुँदैन ।’

नेपालमा भएका ठूला–ठूला परिवर्तन चुनावबाट नभएको भन्दै उनले अहिले खोजी रहेको परिवर्तन पनि चुनावबाट होइन, जनताबाट नै होस् भन्ने सोचेर अगाडि बढिरहेको बताए ।

उनले भने, ‘आन्दोलन मूल रूपमा प्रदर्शन र घेराउबाटै हाम्रो मान्यता स्थापित गर्ने बाटोमा लागिरहेका छौं । त्यो तरिकाले आन्दोलन अगाडि बढाइरहेका छौं । नेपालमा भएका कुनै पनि परिवर्तन चुनावबाट भएको छैन । ०७ साल, ०१७, ०४६, ०६२/६३ सालमा भएको कुनै पनि परिवर्तन चुनावबाट भएको होइन । त्यसकारण हामीले अहिले खोजी रहेको परिवर्तन पनि चुनावबाट होइन, जनताबाट नै होस् भन्ने सोचेर अगाडि बढिरहेका छौं ।’

समझदारीबाट पनि राजसंस्था स्थापना हुनसक्छ भन्ने विश्वास लिएको भन्दै उनले राजादेखि लिएर अहिलेका सबै राजनीतिक दलहरूलाई ठाउँ दिएर देशलाई निकाश दिने हिसाबले अगाडि बढ्न पनि आह्वान गरेका छन् ।