पूर्वप्रधानसेनापति क्षेत्रीको घोटालाबारे सम्पत्ति शुद्धिकरण र अख्तियारले काम थाल्यो


काठमाडौं – पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाको कल्याणकारी कोषको करोडौं र विभिन्न ठेक्कामा अर्बौं घोटाला गरेको प्रकरणबारे सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको अधिकार पाएको छ । अधिकार पाएसँगै विभाग र अख्तियारले छछानबिनको काम सुरु गरेका छन् ।

क्षेत्रीले द्रुत मार्ग निर्माणको ठेक्का, कल्याणकारी कोष, सेनाभित्रका विभिन्न ठेक्कामा अर्बौं घोटाला गरेको भन्दै प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले छानबिनको निर्णय गर्दै सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र लेखेको थियो ।

सोही पत्रका आधारमा क्षत्रीले मुलुक भित्र र बाहिर थुपारेको सम्पत्तिको विवरण संकलनका लागि विभागले अधिकारीहरू खटाएको छ भने अख्तियारले पनि विभिन्न ठेक्का सम्झौतामा भएका तथ्य संकलन थालेको हो ।

नेपाली सेनाभित्र सबैभन्दा बढी घोटाला क्षत्रीको पालामा नै भएको भन्दै समितिले उक्त विषयमा अध्ययनका लागि कार्यदल गठन गरेको थियो । नेकपाका सांसदद्वय नवराज सिलवाल, रेखा शर्मा र नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूको कार्यदलले क्षत्रीको सम्पत्ति छानबिन गर्नका लागि प्रतिवेदनमा उल्लेख गरेको थियो ।

उक्त प्रतिवेदन उपर छलफल गरी अनुसन्धानका लागि राज्यका सम्बन्धित निकायमा पत्राचार भएको र काम थालेको सांसद रेखा शर्माले जानकारी दिइन् ।

‘पूर्वप्रधानसेनापतिको भ्रष्टाचारको विषय आएको छ त्यसको छानबिन गर्न सम्पति शुद्धिकरण विभाग र अख्तियारलाई पत्र लेखेका छौं’, काठमाडौंपाटीसँग कुरा गर्दै सांसद शर्माले भनिन्, ‘हामीले अनियमितताको छानबिन गर्ने कुरा आएन । सरकारका निकायलाई सत्यतथ्य छानबिन गरेर प्रतिवेदन हामीलाई बुझाउन भनेका छौं ।’

नेपाली सेनामा हुने गरेको भ्रष्टाचारका विषयमा यसअघिका लेखा समितिमा पनि बारम्बार प्रश्न उठ्ने गरेका थिए । तर, राज्यका संयन्त्रलाई नीतिनियमले कतिपय ठाउँमा बाँधेका कारण सेनाभित्र हुने गरेको भ्रष्टाचारको अभियोगमा अनुसन्धान हुन सकेको थिएन ।

पूर्व प्रधानसेनापति क्षेत्रीले सैनिक नेतृत्व सम्हाल्दा थुप्रै भ्रष्टाचार र अनियमितता भएका चर्चा चलेपनि त्यसमाथि छानबिन भएको थिएन । पूर्व प्रधानसेनापति क्षेत्रीले उन्मुक्ति पाउने देखिएको अवस्थामा उनका भ्रष्टाचारका फाइल खोतल्ने अग्रसरता प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले देखाएको थियो । पूर्व प्रधानसेनापति क्षेत्रीमाथि सैनिक मुख्यालय बनाउँदा र राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणमा घोटाला गरेको आरोप लागेको थियो ।

क्षेत्रीविरुद्ध संसदको सुशासन समितिमा उजुरी परेको थियो । उजुरीमाथि प्रारम्भिक छानबिन गर्न गत असोजमा सांसद शर्माको संयोजकत्वमा गठित गुनासो तथा उजुरीहरूको संक्षिप्त विवरण र उजुरी सुनुवाइ कार्यदलले क्षेत्रीमाथि छानबिन हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

र यो पनि

सेनामा शुद्धिकरणको सुरुवात : पूर्व सेनापति क्षेत्रीको ‘भ्रष्टाचार’ खोतल्दै सांसद

प्रतिक्रिया दिनुहोस
Advertisement