जितपछि लिङ्देन भन्छन् – यो मोरा पनि उस्तै रहेछ भन्ने बनाउँदिन


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । अध्यक्षमा निर्वाचित भएका लिङ्देनले आफू अरुभन्दा फरक रहेको सन्देश दिने बताएका छन् । उनले आफूलाई अरु नेता जस्तै रहेछ भन्ने मौका समेत आउन नदिने दावी गरे ।

‘अरु नेताजस्तै रहेछ भन्ने मौका म कसैलाई दिने छैन,’ उनले प्रतिनिधिलाई धन्यवाद दिँदै भने, ‘यो मोरा पनि उस्तै रहेछ भन्न बनाउँदिन । तपाईंहरुको शीर झुक्न दिन्नँ । ‘ उनले नेतृत्त्व परिवर्तन गर्ने कुरा सामान्य नरहेको बताएका छन् । असफल पुस्तालाई विस्थापित नगरी सुधार हुँदैन भन्ने अन्य दलहरुको नेतृत्त्व राप्रपाले गर्ने उनको भनाइ छ ।

‘कुनै नेता र व्यक्तिविरुद्द गरिएको विद्रोह होइन । राष्ट्रिय प्रजातन्त्र पार्टी र यसले लिएको मुद्दाको जीवनको लागिसमेत अनिवार्य र अपरिहार्य कदम थियो, ” उनले भने । उनले निर्वाचित सबै मिलेर नवीन राप्रपा निर्माणमा लाग्ने पनि बताए । यता राप्रपाको अध्यक्ष पदमा पराजित भएका कमल थापा भने आफू निकट नेताहरुसँग छलफलमा जुटेका छन् ।

स्रोतका अनुसार अब थापाले नयाँ पार्टी गठन गर्ने बुझिएको छ । अध्यक्ष पदमा पराजित भएका थापाले सामाजिक सञ्जालमार्फत अब राप्रपामा नरहने संकेत गरेका छन् । थापा निकट एक नेताका अनुसार हाल उनी नयाँ पार्टी गठन गर्नेबारे छलफलमा जुटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement