प्रचण्ड र ओलीलाई संसदमा राजेन्द्र महतोले भने ‘जनताको मन जितेर ठूलो पार्टी बन्नु भयो, अब मन ठूलो बनाउनुहोस


काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई देशको निकासका लागि ‘दिल ठूलो’ बनाएर भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

आइतवार व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै महतोले चुनावमार्फत जनताको मत जितेकोप्रति एमाले र माओवादी केन्द्रको वाम गठवन्धन र गठवन्धनका नेता ओली र प्रचण्डलाई बधाइ दिए । हिन्दीमा भाषण गरेका महतोले भने, ‘जनताको मन जितेर ठूलो पार्टी बन्नुभएको छ । अब दिल बडा बनाइए (अब मन ठूलो बनाउनुहोस) ।’

देशमा संघीय व्यवस्था लागू भएको अहिलेको अवस्थामा आफू धेरै खुसी भएको बताउँदै महताले देश यो अवस्थासम्म पुग्नका लागि लाखौं नेपालीले रगत बगाएका स्मरण गरे । संसदमा भावनात्मक मन्तव्य दिएका महतोले अब देशलाई आर्थिक समृद्धिको बाटोतर्फ अगाडि बढाउन लडाइँ छाडनुपर्नेमा जोड दिए ।  त्यसका लागि ठूला पार्टी एमाले–माओवादीले विशेष पहल गर्नुपर्ने र भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यसअघि जाति, धर्म, बर्ग र लिङ्गका आधारमा विभेद भइरहेको भन्दै महताले अब पनि त्यस्तै अवस्था रहे द्वन्द्व झन चर्किने चेतावनी दिए । सबै समुदायलाई समेटेर यो देशलाई महान बनाउनु पर्छ भन्ने आफ्नो आग्रह रहेको महताको भनाइ थियो । ‘अब लडाइँ झगडाको समय समाप्त गर्नका लागि यत्तिकै भन्दिएर मात्रै हुँदैन,’ महतोले भने, ‘जनताको अभिमतबाट ठूलो बनेका दलले पहल गर्नुपर्ने हुन्छ ।’

महतोले संविधान संशोधनको पहल थाल्न प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आग्रह गरे । ‘प्रचण्डजी यसअघि त दुई तिहाइको चक्कर थियो । अब त्यस्तो छैन,’ महतोले भने, ‘प्रधानमन्त्री संविधानलाई गीता, बाइबल या कुरान बनाउनु हुँदैन । संविधान संशोधन हुने चीज हो । यसका लागि तपाईले ठूलो दिल बनाउनु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement