सरकारको मूल्यांकन प्रतिबद्धताले होइन, परिणामले हुनुपर्छ : राजेश हमाल

सरकारको मूल्यांकन प्रतिबद्धताले होइन, परिणामले हुनुपर्छ : राजेश हमाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अभिनेता राजेश हमालले सरकारको पहिलो सय दिनको मूल्यांकन प्रतिबद्धता र घोषणाका आधारमा नभई कार्यसम्पादन र परिणामका आधारमा हुनुपर्ने बताएका छन्।

बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै हमालले अहिले नेपाली जनताले भाषणभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरिरहेको उल्लेख गरेका छन्।

‘कुनै पनि सरकारको पहिलो सय दिनको मूल्यांकन केवल उसका प्रतिबद्धता वा घोषणाहरूका आधारमा होइन, उसले लिएको दिशा र जनतासामु प्रस्तुत गरेका परिणामका आधारमा हुनुपर्छ,’ उनले लेखेका छन्।

समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे टिप्पणी गर्दै हमालले विश्वमा शक्तिशाली राष्ट्रहरूबीच बढ्दो रणनीतिक प्रतिस्पर्धाका बीच नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने बताएका छन्।

यस्तै, सबै मुलुकसँग मित्रवत् सम्बन्ध कायम राख्नुपर्ने भए पनि कुनै पनि बाह्य शक्तिको प्रभावले नेपालको सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतामा असर पर्न नदिनुपर्ने उनको भनाइ छ।

उनले शान्तिपूर्ण विरोध लोकतन्त्रको प्राण भएको तर हिंसा र आगजनी लोकतन्त्रको भाषा हुन नसक्ने बताएका छन्।

आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्नेहरू सम्मानका पात्र हुन्, तर अपराध गर्ने जोसुकै भए पनि निष्पक्ष रूपमा कानुनी दायरामा ल्याइनुपर्छ, उनले लेखेका छन्।

हमालले राष्ट्रको वास्तविक शक्ति संस्थाहरूलाई सबल बनाउने, विधिको शासनलाई सुदृढ गर्ने र दलगत राजनीतिभन्दा माथि राष्ट्रलाई राख्न सक्ने क्षमतामा निहित रहेको पनि उल्लेख गरेका छन्।

उनले नागरिकलाई विवेकशील र एकताबद्ध भएर राष्ट्रनिर्माणमा लाग्न आह्वान गरेका छन्। विभाजनभन्दा विवेकको विजय र राजनीतिक विचारधाराभन्दा नेपालप्रतिको प्रेमलाई माथि राख्ने समाज निर्माण गर्नुपर्ने उनको भनाइ छ।