परराष्ट्र नीतिबारे राजेश हमालको टिप्पणी : छिमेकीसँगको मित्रता र सार्वभौमसत्ताप्रतिको निष्ठा एकअर्काका प्रतिस्पर्धी होइनन्

परराष्ट्र नीतिबारे राजेश हमालको टिप्पणी : छिमेकीसँगको मित्रता र सार्वभौमसत्ताप्रतिको निष्ठा एकअर्काका प्रतिस्पर्धी होइनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अभिनेता राजेश हमालले अर्थमन्त्रीले दिएको अभिव्यक्तिले नेपालको दीर्घकालीन परराष्ट्र नीतिको आधारलाई कमजोर पार्न सक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

समसामयिक विषयमा विचार राख्दै आएका हमालले नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमसत्ता, स्वाभिमान र स्थापित सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन् ।

कुनै पनि पदाधिकारीले व्यक्तिगत रुचि वा राजनीतिक स्वार्थका आधारमा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा असर पर्ने अभिव्यक्ति दिन नहुने उनको भनाइ छ ।

नेपाल–भारत सम्बन्ध भौगोलिक निकटता, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै हमालले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने इमानदार प्रयासलाई स्वागत गर्नुपर्ने बताएका छन् ।

तर, त्यस्तो प्रयासका क्रममा नेपाली प्रतिनिधिहरूले कूटनीतिक विवेक प्रयोग गर्दै नेपालको राष्ट्रिय अडानलाई मर्यादित र सन्तुलित रूपमा प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

‘नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा अत्यन्त महत्त्वपूर्ण र रणनीतिक रूपमा संवेदनशील छ । यसलाई व्यक्तिगत तुष्टीकरणका संकेत वा सार्वजनिक उपहास निम्त्याउने टिप्पणीमा सीमित गर्नु हुँदैन,’ हमालको भनाइ छ ।

उनले नेपाल–भारत सम्बन्धमा रहेका ऐतिहासिक अनुभव, समाधान हुन बाँकी सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषयलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । सरकारको धारणा स्पष्ट र एकरूप हुनुपर्ने भन्दै उनले वक्तव्यबाजीभन्दा स्थापित कूटनीतिक माध्यम, प्रमाण र सौहार्दपूर्ण संवादबाट राष्ट्रिय अडान प्रस्तुत गर्नुपर्ने उल्लेख गरेका छन् ।

छिमेकीसँगको मित्रता र राष्ट्रिय सार्वभौमसत्ताप्रतिको निष्ठा एकअर्काका विरोधी नभएको उनको निष्कर्ष छ । नेपाल स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो पहिचानप्रति विश्वस्त र राष्ट्रिय हितबारे स्पष्ट भएकै कारण भरपर्दो साझेदार बन्न सक्ने हमालले बताएका छन् ।

उनको यो टिप्पणी अर्थमन्त्रीको अभिव्यक्तिलाई नेपालको परराष्ट्र नीतिको मर्यादा र नेपाल–भारत सम्बन्धको संवेदनशीलतासँग जोडेर गरिएको आलोचनाका रूपमा आएको छ ।

राजेश हमाल एक चर्चित कूटनीतिज्ञका पुत्र हुन्। उनका पिता चुडाबहादुर हमाल विभिन्न देशका नेपालका राजदूतका रुपमा सक्रिय थिए ।