दैवी प्रकोपको दीर्घकालीन समाधान खोज्न राजेश हमालकाे आग्रह


काठमाण्डु – अभिनेता राजेश हमालले दैवी प्रकोपको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । पछिल्लो समय सिन्धुपाल्चोक, मनाङ लगायत जिल्लामा गएको बाढी र त्यसले पारेको प्रभावपछि सामाजिक सञ्जालमार्फत हमालले दैवी प्रकोपको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका हुन् ।

उनी भन्छन्, ‘पीडितहरूलाई हामी सबैले सहयोग गर्नुपर्छ । हामी नेपाली दाजुभाई, दिदीबहिनी, सरकार, देश–विदेशमा भएका नेपालीहरूले हातेमालो गरेर जो व्यक्तिहरू पीडित हुनुहुन्छ, उहाँहरूको घाउमा मलहम लगाउने वा उहाँहरूको जीवनलाई केही हदसम्म सहज बनाउने कोशिस हामी सबैबाट हुनुपर्छ ।’

सबैले आपसमा हातेमालो गर्न सके पीडामा परेका सबैको जीवन उकास्न सकिने अभिनेता हमालले बताएका छन् । उनले बाढी पहिरोजस्ता दैवी प्रकोप भइरहनुको पछाडि आफ्नो पनि हात छ भनेर मनन गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।

‘प्रकृति, वातावरणको खिलाफ त गरिरहेका छैनौँ ? त्यसको मर्यादामा आँच आउने किसिमले हामी हाम्रो जीवनशैली, संरचनाहरू त बनाइरहेका छैनौँ ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘जबसम्म प्रकृतिलाई हामीले सम्मान गर्दैैनौँ, प्रकृतिले हामीलाई सम्मान कहिल्यै गर्दैन । यो भन्दैमा दैवीप्रकोप आउँदै नआउने भन्ने होइन् । तर, दैवीप्रकोप आउँछ र यसले गर्ने असर यस्तो हो भनेर होसियार रहनु पर्छ ।’ होसियारिता सोचमा मात्रै नभएर व्यवहारमा नै देखाउनु पर्नेमा उनले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement