काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले पत्रकारका नाममा धम्की दिने प्रवृत्तिको आलोचना गरेका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै खत्रीले मंगलबार प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठलाई केही पत्रकार नेताले झ्यालबाट फ्याँक्ने भन्दै धम्की दिएको दाबी गरे।
उनले भने, ‘यस्तो धम्की दिने पत्रकारहरू हुन् कि गुन्डा हुन् ? पत्रकारका नाममा कसैलाई धम्की दिने यिनीहरू असनका साँढे हुन्।’
श्रमजीवी पत्रकारले तलब नपाउँदा नबोल्ने तर सञ्चारमाध्यमका मालिकको विज्ञापनमा कटौती हुँदा आवाज उठाउने प्रवृत्तिप्रति पनि उनले प्रश्न उठाए।
‘श्रमजीवी पत्रकारले तलब नपाउँदा चुइँक्क नबोल्ने, तर मालिकको विज्ञापन काटिँदा कम पाउँदा कराउने यी कस्ता पत्रकार हुन् ? यी पत्रकार होइनन्, धम्की दिने त दुश्मन हुन्,’ खत्रीले भने।
सरकारले सञ्चारमाध्यमलाई विज्ञापनका नाममा रकम बाँड्ने काम रोक्नुपर्ने उनको भनाइ थियो। उनले सरकारले विज्ञापन घटाउने मात्र नभई हटाउने नीति लिनुपर्ने बताए।
‘सरकारले यस्ता विज्ञापन घटाउने मात्रै होइन, हटाउने नै हो। लगानीकर्ताले आफ्नो मिडियाको भविष्यबारे आफूले सोच्ने हो। सरकारले विज्ञापन दिन्छ भनेर मिडिया चलाउने होइन,’ उनले भने।
पत्रकार महासंघजस्तो निष्पक्ष हुनुपर्ने संस्था दलहरूको प्रभावमा परेर धम्कीपूर्ण भाषा प्रयोग गर्ने अवस्थामा पुग्नु आपत्तिजनक रहेको खत्रीले बताए।
उनले सञ्चारमाध्यमका लगानीकर्ताले आफ्नो मिडियाको आर्थिक तथा व्यावसायिक भविष्यबारे आफैं सोच्नुपर्ने धारणा राखे।




प्रतिक्रिया