प्रधानमन्त्री सचिवालयका ६ जना बाहिरिए, भट्टराई र रिमाल प्रधानमन्त्रीको रोजाईमा


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका दुई सल्लाहकारसहित ६ सदस्यको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्रीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको राजीनामा भने अस्वीकृत गरेका छन् ।

अन्य राजीनामा स्वीकृत भएकाहरु भने अब पदमुक्त भएका छन् । राजीनामा स्वीकृत हुनेमा प्रेस सल्लाहाकार कुन्दन अर्यालसहित जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल रहेका छन् । अर्यालसहित ६ जनाको राजीनामा मंसिर १ गतेबाट लागू हुने गरी स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले गत साता सचिवालयका सबै ११ सदस्यलाई सामुहिक राजीना दिन भनेका थिए । तर प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र सल्लाहकार राजन भट्टराईको राजीनामा भने अस्वीकृत भएको हो । यसको अर्थ हो रिमाल र भट्टराई प्रधानमन्त्री ओलीको रोजाइमा परेका छन् । त्यसैले उनीहरुले सचिवालयमा निरन्तरता पाएका छन् ।

आफ्नो स्पिरिट अनुसार काम गर्न नसकेकाले सचिवालयका केही सदस्य र सल्लाहकारको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement