जसपा नेता राजकिशोरको यसरी भयो मन्त्रीमा ‘इन्ट्री’


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षभित्र विवाद उत्पन्न भएको छ । जसपा नेता राजकिशोर यादव सरकारमा सहभागी भएपछि जसपाभित्रको विवाद उत्कर्षमा पुगेको हो । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राजकिशोरलाई मन्त्री बनाएको भन्दै असन्तुष्टी जनाएको स्रोतको दावी छ । अध्यक्ष ठाकुरले यसअघि नै राजकिशोरलाई मन्त्री बनाउन खोजेको चर्चा चलेपनि महतोको असन्तुष्टीका कारणले उनको नाम काटिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत यादवलाई मन्त्री बनाउन खोजेपनि महतोको विरोधका कारण रोकिएको थियो । यादवलाई मन्त्री नबनाएपछि उनी असन्तुष्ट थिए । यादव राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने नियमित संवादमा थिए ।

पार्टीभित्रको असन्तुष्टिका कारण मन्त्री बनाउन नसकेको ठाकुरले दावी गरेपनि उनि समेत यादवलाई मन्त्री बनाउन सकरात्मक नबनेको स्रोत बताउंछ । शुक्रवार पनि ठाकुरले प्रधानमन्त्री ओलीलाई यादव मन्त्रीमण्डलमा सहभागी नहुने भन्दै अरुलाई नै मन्त्री बनाउन आग्रह गरेको थिए ।

राजकिशोरले आफूलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिन आग्रह गरेपनि प्रधानमन्त्री ओलीले उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यादवले आफूले पहिले पनि सञ्चार मन्त्रालय चलाएकाले अनुभवका हिसाबले उपयुक्त हुने भन्दै उक्त मन्त्रालयमा दाबी गरेका थिए ।

आफूले रोजेको मन्त्रालय नपाएका महतो राजकिशोरको इन्ट्रीले झनै रुष्ट बनेका छन् । उनले आजको शपथग्रहण कार्यक्रम समेत बहिस्कार गरेका थिए । यसअघि महतोले उद्योग मन्त्रालयमा दाबी गरे पनि प्रधानमन्त्री ओलीले शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

बालुवाटार निकट स्रोतकाअनुसार राजकिशोरले आवश्यक परे नेकपा एमालेबाट निर्वाचन लड्ने भद्र सहमति गरेका छन् । यसअघि उनी दुई नम्बर प्रदेशमा उपेन्द्र यादव समूहमा जाने चर्चा चलेको थियो । त्यसका लागी उनले उपेन्द्र र बावुराम भट्टराईलगायतका नेतासंग भेटवार्ता गरेका थिए ।

तराईमा यादवहरु सवै एकातिर हुंदा समस्या पर्न सक्ने प्रधानमन्त्री ओलीको आकंलन थियो । त्यसैले प्रधानमन्त्री ओलीलले यादवलाई मन्त्री बनाउन चाहेका थिए । उनले लगातारको आग्रहपछि राजकिशोर मन्त्री बन्न सहमत भएका हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement