इच्छाराज तामाङ प्रकरण : दश करोड माग्ने न्यायाधीश कोइराला ‘निलम्बित’


काठमाण्डु – काठमाण्डु जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।  न्यायाधीश  कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएपछि उनी निलम्बनमा परेका हुन् ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको  राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

उक्त छानबिन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन् ।  कोइरालाले भने आफूले कुनै पनि बार्गेनिङ नगरेको दावी गर्दै आएका छन् । उनले उक्त अडियोबारे छानबिन गर्नसमेत माग गरेका छन् । न्यायाधीश कोइरालाले सो अडियोमा आफूले घुस मागेको आधार केही पनि नभएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement