काठमाण्डु – पहिरो खूस्दा मुग्लिन–नारायणगढ सडक खण्ड बन्द भएको छ । प्रहरीका अनुसार बुधबार बिहान पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरले पहिरो हटाउने कार्य गरिरहेको छ ।
यस्तै अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरूमा पहिरो तथा बाढी जाँदा यातायात सेवा प्रभावित भएको छ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, मुस्ताङको बेनी-जोमसोम सडक र रुकुम पश्चिमको भेरी कोरिडोर पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
सिन्धुपाल्चोकको चारकिलो र कोदारीमा पहिरो खसेका कारण अरनिको राजमार्ग ठप्प भएको हो भने मुस्ताङको थासाङमा पहिरोले सडक रोकेको छ। त्यस्तै, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेशी सडक र दोलखाको लामासाँगु–रमेछाप राजमार्गमा पनि बाढीका कारण सवारी आवतजावत पूर्ण रूपमा बन्द छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ। बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथको हेटौँडा–ठिङ्गन खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
उस्तै काठमाण्डुको सितापाइला–धार्के सडक, भोजपुरको मध्य पहाडी लोकमार्ग, बागलुङको कालीगण्डकी कोरिडोर र मनाङको चामे-बेसीसहर सडकमा भने पहिरो पन्छाएर यातायात एकतर्फी सुचारु गरिएको छ।
प्रहरीले वर्षाको समयमा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।






प्रतिक्रिया