काठमाण्डु – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्।
नेपाल प्रहरीका अनुसार विभिन्न प्रदेशमा दर्जनभन्दा बढी सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।
सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बागमती प्रदेशका दुई प्रमुख राजमार्गमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको खुरकोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन चलाउन दिइने व्यवस्था मिलाइएको छ।
त्यसैगरी मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर आउने कान्ति लोकपथमा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी साधन चलाउन निषेध गरिएको छ। अर्को सूचना नभएसम्मका लागि यो नियम लागु हुने जनाइएको छ।
बागमती प्रदेशमै पर्ने सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिकाको चारकिलो, कोदारी र लिपिङमा खसेको पहिरोले तातोपानी जाने बाटो पूर्ण रूपमा बन्द भएको हो।
उता रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खुलाउन लामो समय लाग्ने विवरणमा उल्लेख छ।
कोशी प्रदेशको अवस्था पनि उस्तै छ। इलाम नगरपालिका वडा नम्बर ९ राजदुवालीस्थित झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि यस सडक खण्डमा वैकल्पिक बाटोको व्यवस्था भने छ।
सोही प्रदेशको भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिममा बाढीका कारण ‘मध्यपहाडी लोकमार्ग’ प्रभावित भएको छ। वैकल्पिक बाटो समेत रहेको उक्त स्थानमा हाल एकतर्फी रूपमा मात्र सवारी साधन चलिरहेका छन्।
गण्डकी प्रदेशअन्तर्गत बागलुङ र लमजुङका सडकहरू पहिरोका कारण आंशिक रूपमा सञ्चालनमा छन्। बागलुङको जैमिनी नगरपालिकास्थित बेलबगरमा खसेको पहिरोले कालीगण्डकी करिडोर एकतर्फी मात्र सुचारु छ। त्यहाँ दुईतर्फी बाटो खुलाउन अझै समय लाग्ने देखिएको छ। लमजुङको मध्यनेपाल नगरपालिकास्थित बिमिरेभञ्ज्याङमा पनि ‘मध्यपहाडी लोकमार्ग’ पहिरोका कारण एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।
कर्णाली प्रदेशमा बाढीले सडक सञ्जाल विच्छेद गराएको छ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ६ स्थिति रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोर अन्तर्गतको जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
देशका विभिन्न स्थानमा बाटो बन्द हुँदा यात्रुहरू मर्कामा परेका छन् भने सम्बन्धित निकायहरू सडक खुलाउने प्रयासमा जुटिरहेका छन्।





प्रतिक्रिया